पन्ध्र वर्षपछि कन्सर्टका लागि वीरेन्द्रनगर सुर्खेतमा नेपथ्य मंगलबार ब्याण्डसँग स्थानीयवासीको भेटघाट
सुर्खेत, पुस ५
मञ्चमा उपस्थित हुने छ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको विशाल टिमसहित नेपथ्य टोली सोमबार दिउँसो वीरेन्द्रनगर सुर्खेत आइपुगेको छ । पाँचवटा ट्रक र दुइवटा बसहरुमा आइपुगेको यो टोलीलाई सोमबारै आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलगायत पदाधिकारीहरुले स्वागत गरेका थिए ।

यसअघि नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज र धनगढीमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ ।
नेपथ्य ब्याण्ड नेपाल र विश्वभरि छरिएका नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत टोली हो । यसपटकको महिनादिन लामो नेपाल भ्रमण अन्तर्गत वीरेन्द्रनगर सुर्खेतमा दोस्रो प्रस्तुती दिनलागेको हो । कार्यक्रम पुस ६ गते बुधबार बेलुकी ४ बजे स्थानीय खुलामञ्च मैदानमा हुनेछ । वीरेन्द्रनगर सुर्खेतमा यसअघि नेपथ्य एकपटक मात्र उपस्थित भएको थियो । अघिल्लोपटक सन् २००७ मा ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत ब्याण्डले यहाँ नेपाल राष्ट्र माध्यमिक विद्यालयको प्रांगणमा आफूलाई प्रस्तुत गरेको थियो ।
संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्नलागेको हो । यस क्रममा नेपालको पूर्वीदेखि पश्चिमसम्म गरेर दस स्थानमा कन्सर्ट आयोजना गरिनेछ । बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिनासम्म चल्नेछ । यात्रा सुरुगर्नुअघि नेपथ्य टोलीले काठमाडौंमा रिहर्सल सम्पन्न गरेको थियो ।
बुधबारको प्रस्तुतीका लागि सुर्खेत खुलामञ्चमा मञ्च बनाउने काम धमाधम सुरुभइसकेको छ । मंगलबार बेलुकी त्यहाँ आवाज तथा प्रकाश इत्यादिको परिक्षण गरिनेछ ।
मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुनेछ । त्यो स्तरलाई कायम गर्नकै निम्ति कलाकारबाहेक पनि ठूलो संख्यामा प्राविधिक तथा व्यवस्थापन टोलीले साथमा यात्रा गर्नुपरेको हो ।
‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम वीरेन्द्रनगर सुर्खेतका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको सुर्खेतस्थित संयोजक सन्जिता गौतम भन्छिन्, ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’ गौतमका अनुसार सुर्खेत कन्सर्टका टिकटहरु धमाधम बिक्री भइरहेका छन् । समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनले बताइन् । त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी (msa.org.np) मार्फत सोझै काट्न सकिन्छ । त्यसैगरि नेपथ्य ब्याण्डको वेबसाइट (nepathya.com.np) बाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ । टेलिफोनमार्फत् सिट सुरक्षित गर्नचाहने दर्शकहरुका निम्ति ९८५५०७६००६, ९८५५०७६०१२, ९८४३३४७६२४ नम्बर उपलब्ध छन् ।
मानवसेवा आश्रमले मंगलबार वीरेन्द्रनगर सुर्खेतमा नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीलाई स्वागत तथा चियापान आयोजना गर्ने छ ।
यो कन्सर्टको लाभांसले मानवता प्रवद्र्धनका साथै सुर्खेतमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरि यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।






