Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

हिंसाको प्रतिरोध गर्न किशोरीहरुलाई आत्मरक्षा तालिम

सुर्खेत ।
पञ्चपुरी नगरपालिका वडा नं. ५, बाबियाचौरमा २५ जना किशोरीहरुलाई ५ दिने मनोसामजिक परामर्श तथा किशोरी आत्म रक्षा तालिम सुरु भएको छ । पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालबीर भण्डारीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको आयोजक संस्थाले जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले भने, महिला तथा बालबालिकाहरु माथि हुने हिंसा बढिरहेको अवस्थामा किशोरीहरुको कमजोर मानसिकतालाई क्षमतावान बनाउनका लागि यस्ता तालिमहरुको आवश्यकता छ । जसले गर्दा उनीहरु भित्र रहेको डर हटेर आत्मविश्वासमा बृद्धि हुने गर्दछ । कठिन परिस्थितिमा पनि उनीहरु नडराइकन आत्मरक्षा गर्नमा केन्द्रित हुने हुनाले हिंसाको विरुद्धमा उत्रन सक्षम हुन्छन् ।


नगरपालिकाले आगामी दिनहरुमा पनि भौतिक विकासलाई मात्र नभएर महिला, बालबालिका तथा किशोरीहरुका साथै लक्षित वर्गको क्षमता विकास तर्फका कार्यक्रमहरु तय गर्नेमा नगरप्रमुखले जोड दिए । आवाज संस्थाले महिला तथा बालबालिकाहरुको क्षेत्रमा जुन कार्यहरु गर्दै आएको छ त्यो प्रशंसनीय रहेको बताउँदै सबै संघ संस्था तथा नागरिकहरुबाट समेत यस्ता कार्यक्रमहरु गर्दै अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।

पाँच दिनसम्म संचालन हुने तालिमको सहजकर्ताको भूमिकामा रहेकी जिल्ला आशा सञ्जालकी पूर्व अध्यक्ष समेत रहेकी सजना सुनारले समुदायमा महिला तथा बालबालिका र किशोरीहरु माथि हिंसाका घटनाहरु बढिरहेकाले यस तालिमबाट सिकेका कुराहरु किशोरीहरुले समूहमा र शुक्रबार विद्यालय पछिको समयमा कक्षामा समेत छलफल गरी एक आपसमा सिक्न सिकाउन आवश्यक रहेको बताइन् । यस्ता तालिम तथा कार्यक्रमहरु वडास्तरबाटै संचालन हुनुपर्नेमा सुनारले जोड दिइन् । आवाज संस्थाको आयोजना र टिजिएच जर्मनीको सहयोगमा सञ्चालित यस तालिममा पञ्चपुरी नगरपालिका वडा नंं ७, ८, ९, १० र ११ का विभिन्न किशोरी समुहका जम्मा २५ जना किशोरीहरुले ५ दिने आवासिय तालिममा सहभागिता भएका छन् । तालिमका प्रत्येक किशोरीहरुलाई ट्रयाक सुट, टिसर्ट, जुत्ता र मोजा प्रदान गरिएको छ ।

यो तालिमले हरेक किशोरीलाई आफुलाई पहिचान गर्ने म हिरो हो भन्ने भावनाको विकास गराई स्मार्ट किशोरीको रुपमा विकसित गर्ने, किशोरीहरुलाई अधिकारको संरक्षण गर्दै यौनशोषण, दुव्र्यवहार, हिंसा र आक्रमण भएको अवस्थामा पनि कसरी आफुलाई नडराई सुरक्षित राख्न सकिन्छ भन्ने सीपहरु सिकाएर थप सशक्त, सक्षम र आत्मविश्वास वृद्धि गराउन यो तालिमको आयोजना गरिएको आवाज संस्थाका कार्यक्रम संयोजक सुशीलकुमार कार्कीले जानकारी दिए ।