Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

कश्यप पञ्चाङ्ग लोकार्पण

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कश्यप पञ्चाङ्गको लोकार्पण भएको छ । विश्व पञ्चाङ्ग निर्णय संघका महासचिव एवम् महाकालेश्वर पञ्चाङ्ग सारिणीकर्ता तथा खगोलविद श्रीराधे गोविन्दको हातबाट नेपाल ज्योतिष परिषद जिल्ला कार्यसमितिले आयोजना गरेको एक विशेष सभामा उक्त पञ्चाङ्गको लोकार्पण गरिएको हो ।

May be an image of 8 people, people standing and indoor
पञ्चाङ्गको निर्माण गर्नु सामान्य कुरा नभएको बताउँदै प्रमुख अतिथि श्रीराधे गोविन्दले भने, कर्णालीको राजधानीबाट लोकार्पण भएको पञ्चाङ्गलाई राष्ट्रव्यापी बनाउने कार्यमा सबै ज्योतिष एवम् ब्राह्मणहरु जुट्न आवश्यक छ । पञ्चाङ्ग गणनाको कार्यलाई पुस्तान्तरण गर्न आवश्यक रहेको श्रीराधे गोविन्दले बताए । नजानेकालाई सिकाउनु पर्छ र जानेकाहरुबाट सिक्नु पर्छ भन्ने सिद्धान्तका अभियान्ताका रुपमा चिनिने श्रीराधे गोविन्द पञ्चाङ्ग गणितको प्रशिक्षक हुन् ।

पछिल्लो समयमा ज्योतिष विद्या तथा संस्कृत भाषा प्रति युवाहरुको चासोमा कमी आइरहेका बेला पञ्चाङ्गकार खगेन्द्र प्रसाद अधिकारीले विक्रम सम्वत् २०८० को पञ्चाङ्ग प्रकाशन गरेका हुन् । पञ्चाङ्गको लोकार्पण सभामा बोल्दै पञ्चाङ्गकार अधिकारीले भने, हाम्रा पूर्खाले ज्योतिष विद्या मार्फत जुन सेवा गरि आएका थिए त्यसैको बिंडो थाम्ने कोसिस गरेको हुँ । खसान मडिया प्रा.लि.को प्रशासन रहेको उक्त पञ्चाङ्ग नेपालमा प्रकाशित हुने पञ्चाङ्गहरु मध्ये फरक रहेको पनि पञ्चाङ्गकार अधिकारीले दाबी गरे । उनले भने, विक्रम सम्वत्लाई कामकाजमा वैशाख १ गतेदेखि सुरु भएको मानेपनि चान्द्रमास अनुसार र सम्वतसर अनुसार चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुने भएकाले चैत्र शुक्ल प्रतिपदाबाटै पञ्चाङ्गको गणना गरेको छु ।

May be an image of 5 people and people standing

पञ्चाङ्गकार अधिकारीले भने, कर्णालीमा अनेक खानी, खनिज, जडिबुटी, जल, जंगलसँगै सभ्यता र संस्कृति छन् । हामीसँग वेद साहित्य छ, उपनिषद् छ, दधिचि ऋषिको ज्ञान छ, प्रसिद्ध ज्वाला क्षेत्र हामीसँग छ । वैश्वानर क्षेत्र हामीसँग छ । ज्वाला पुराण हामीसँग छ । यी प्रकृतिले दिएका अनुपम उपहार, हाम्रा पूर्खाले हाम्रा लागि छोडेका अनगिन्ती ज्ञानहरुका बारेमा खोज अनुसन्धान गर्न अब ढिला गर्नु हुँदैन । यस पुण्यभूमिमा मध्यपश्चिम विश्वविद्यालय अवस्थित छ । विश्वविद्यालयले एउटा समुदाय, परिवार वा कुनै व्यक्ति माथि मात्र थेसिस गर्ने वा विश्वविद्यालयले फड्को मार्ने ? विश्वविद्यालयले आज कोरियन, जापनीज, चाइनीज भाषा पठाइरहेको छ । त्यो आफूले उत्पादन गरेका विद्यार्थीलाई विदेशमा रोजगार दिन हो भने अरबी, मले भाषा पनि पढाओस् होइन र भाषाको विकास गर्न हो भने संस्कृत भाषालाई प्राथामिकतामा राखोस् उनले आग्रह गरे ।

विश्वको सर्वप्राचीन र सबैभन्दा समृद्ध भाषा नै संस्कृत भएको बताउँदै संस्कृत भाषा र वेदलाई केवल पूजा गर्नका लागि मात्र हेर्नु गलत भएको उनले दाबी गरे । वेद महान साहित्य र ज्ञानको सागर भएकाले त्यसबाट हामीले दिनु पर्ने फाइदा लिन नसक्नुमा दुर्भाग्य भएको उनको भनाई थियो । वेद नै अध्यात्म, दर्शन, ज्ञान–विज्ञान, इतिहास, कला, संस्कृति, साहित्य, वास्तुशास्त्र, योगशास्त्र, आयुर्वेद, खगोलशास्त्र, गणित, ज्योतिषशास्त्र आदिको प्रमुख स्रोत भएकाले हाम्रा विद्यालय विश्वविद्यालयहरुले यसको संरक्षण, सम्वद्र्धन, विकासका साथै अनुशरण गर्न गराउन जरुरी भएको अधिकारीले बताए ।

May be an image of 12 people, people standing, tree and outdoors

पण्डित नारायण प्रसाद तिमिल्सेनाले पञ्चाङ्गकार अधिकारी र कश्यप पञ्चाङ्गका बारेमा बोलेका थिए । नेपाल ज्योतिष परिषद सुर्खेतका अध्यक्ष याम प्रसाद अधिकारीको सभापतित्वमा भएको लोकार्पण सभामा नेपाल ज्योतिष परिषद केन्द्रीय सदस्य विकास पौडेल, कर्णाली प्रदेश महासचिव विष्णुप्रसाद अधिकारी, ब्राह्मण समाजका केन्द्रिय सचिव तुलसी उपाध्यायलगायत ज्योतिष, ब्राह्मण, पण्डितहरु, कर्णाली साहित्य समाजका उपाध्यक्ष देवकी तिमिल्सेना, गणेशभक्त गौतम, उमालाल आचार्य, मीनराज पन्तलगायतको उपस्थिति रहेको उक्त सभाको सहजिकरण दीपक उपाध्यायले गरेका थिए ।