अधिकारी वंश प्रतिष्ठानद्वारा ऐतिहासिक स्थलो दुरडाँडाबाट ऐतिहासिक कार्यको थालनी
कश्यप गोत्रीय अधिकारीहरूको उदगम स्थलमध्ये एक रहेको लमजुङको ऐतिहासिक थलो दुराडाँडामा अधिकारीका अग्रज व्यक्तित्वहरूको पहलमा फेरि यौटा ऐतिहासिक कार्यको थालनी गर्ने घोषणका साथ कार्यारम्भ गरिएको छ । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान जिल्ला समिति लमजुङको आयोजनामा यहाँको पाणिनी संस्कृति मावि, गुरुकुल आश्रमको प्रांगणमा आयोजित आठौं जिल्ला भेला तथा छैटौं वनभोज कार्यक्रमका अवसरमा ‘ब्राह्मणहरूको संस्कार संस्कृतिको पुनर्जागरणका साथमा विपन्न अधिकारी वंशका छोराछोरीलाई छात्रवृत्ती प्रदान गरी कक्षा– १२ सम्म सरकारी विद्यालयमा पढाउने’ उदघोष गर्दै नयाँ अभियानको थालनी फागुन १३ गते गरिएको हो ।
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान जिल्ला समिति लमजुङ– रुपाकोटद्वारा केन्द्रीय सदस्य सीताराम अधिकारीको प्रमुख आतिथ्यता तथा प्रमुख वक्ता दिननाथ पण्डित (प्राध्यापक सानोठीमी क्याम्पस, संस्कार संस्कृतिका ज्ञाता एवम् ज्योतिषविद्)को समुपस्थितिमा उक्त कार्यक्रम भएको हो ।
मौसममा आएको फेरबदल :
सो अवसरमा प्रमुख वक्ता पण्डितले ब्राह्मणका संस्कार संस्कृति, समय विचलन र ज्योतिष शास्त्रको महत्वका बारेमा अत्यन्त शालिन एवम् सरल भाषामा आफ्नो प्रस्तुति दिनु भई सहभागीहरूलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । मौसममा आएको फेरबदललाई ज्योतिष भाषामा ‘मौसम परिवर्तन’ भनिन्छ भने विज्ञानले ‘ग्लोबल वार्मिङ’ अर्थात जलवायु परिवर्तन भन्ने गरेको छ, नाम जे दिए पनि दुबै एउटै हो भन्दै उहाँले निर्धारित मौसमभन्दा अघि फूलहरू फुल्नु, जाडोको समयमा बदलाब आउनु जस्ता घट्ना समयमा आएको विचलनले हो उहाँले बताउनुभयो । उहाँले उदाहरण दिदै र ठोकुवा गर्दै भन्नुभयो, ‘सयपत्री, गुर्धौली, बकाइनो, आरु, लालीगुराँस आदि फूलहरू एक महिना वरनै फुल्न थालेका छन्, त्यो बेलामा हामी त हुँदैनौं तर अबको एक हजार ७२० वर्षमा ऐले पुसमा हुने जाडो असारमा हुने र असारमा हुने गर्मी पुसमा हुने हुन्छ ।’
चन्द्र शमशेरले सति प्रथा हटाएको घोषणा गरेपछि पनि ९ जना महिला सति गएको स्मरण गर्दै उहाँले हामी धर्म दर्शनसँग सम्बन्धित रहेर मौसममा आएको परिवर्तनलाई स्विकार नगरी परम्परागत धारणामा अभिप्रेरित हुने गरेका छौं भन्नुभयो ।
संस्कार संस्कृतिका बारेमा प्रकाश पार्नु हुँदै पुरोहितहरूले आफ्नो अनुकुल मुहुर्तहरूलाई व्याख्या गर्ने गरेको हुँदा विकृति भित्रिएको हो :
यसैगरी, संस्कार संस्कृतिका बारेमा प्रकाश पार्नु हुँदै पुरोहितहरूले आफ्नो अनुकुल मुहुर्तहरूलाई व्याख्या गर्ने गरेको हुँदा विकृति हाम्रा संस्कारमा भित्रिएको छ भन्नुभयो । उहाँले लगन समेत जुराएर कर्मकाण्डका विधि विधानका कार्य गर्नु पर्नेमा बार र बेला(समय) मात्र जुराएर शुभ कार्य गर्ने गरिदिँदा समस्या सिर्जना हुने तथा कहिँले काँही अप्रिय घट्ना÷दुर्घटना हुने गरेका छन् । हामीले विवाहमा कतै बेहुला, कतै बेहुली, कतै केटाको बाबु वा आमा मरे भन्ने सुन्छौं, देख्छौं ती लगन नजुराएका कारणले घटित घटना हुन् उहाँले दावाका साथ भन्नुभयो । रातको लगनलाई दिनमान विवाह गछौं, भद्राको समयमा विवाह गर्छौं, लग्न जुराएको खण्डमा एक हजार गुणा फल प्राप्त हुने हुन्छ तर बार बेलामात्र हेराएर लगन गाँठो पार्ने चलनले गर्दा धेरै जसो वैवाहिक जीवन असफलतातिर धकेलिने गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘लगन जुराउने क्रममा तिथि जुराउँदा एक गुणा, नक्षत्रमा चार गुणा, बार जुराउँदा आठ गुणा, चन्द्रमामा १० गुणा, करणमा १६ गुणा, योगमा ३२ र तारा जुराउँदा ६० गुण फल प्राप्त हुने तर लग्नमा एक हजार गुणा फल प्राप्त हुनेमा त्यो फल नहेरी बार र बेला मात्र जुराएर साइत गर्ने गरेको पाइन्छ ।’
यसैगरी, थप उदाहरण दिदै उहाँले भन्नुभयो, ‘लग्नमा अशुभ ग्रह भएको खण्डमा केटा आफैलाई पिर्ने, चौथो स्थानमा भए आमालाई पिर्ने, सातौं स्थानमा दुलहीलाई र १० औं स्थानमा अशुभ ग्रह हुँदा पिताजीलाई पिर्ने हुन्छ ।’ यसैले यस्ता घट्नाबाट बच्न लगन जुराउने गर्नु पर्दछ । कर्मकाण्ड गर्दा कर्तासमेत ज्ञाता हुन आवश्यक छ भन्नुको कारण कुनै पनि दुर्घटना घटित नहोस् भन्ने उद्देश्यले हो भन्ने समेत प्रष्ट्याउनु भयो ।
संस्कारलाई रक्षा गर्नु संस्कृति :
त्यस्तै, संस्कार/संस्कृतिका बारेमा प्रकाश पार्नु हुँदै संस्कार भनेको हामीले पहिलेदेखि के के प्राप्त गरियो, त्यसैको आधारमा हामी लगायत आगामी पिंढीले अवलम्बन गर्ने कुराहरू नै संस्कार हो त्यसलाई रक्षा गर्नु संस्कृति हो प्राध्यापक पण्डितले भन्नुभयो । उदाहरणका क्रममा विश्वका हरेक राष्ट्रमा आफ्नै किसिमको संस्कार र प्रचलन रहेका छन् भन्दै उदाहरण उहाँले प्रस्तुत गर्नु भयो । उहाँले इण्डोनेसियाको दामी समुदायमा श्रीमान्को मृत्यु हुँदा श्रीमतीको माझी औंला काट्ने चलन छ । चीनमा सभ्रान्त परिवारको विवाह गर्दा गाईमाथि चढाएर छोरी अन्माउने प्रचलन छ, भारतको आग्रा साइडमा छोरीले प्रेम विवाह गरी नजाओस् भनेर ५– ६ वर्षको उमेर उनको यौनाङ्गमा आगोले पोल्ने चलन छ भन्ने जानकारी पण्डितले दिनुभयो ।
त्यस्तै, नेपालको तराई क्षेत्रमा बाबुआमाको मृत्यु बरखी बार्ने प्रचलन छैन, १३ औं दिनमा ठूलो उत्सव गरी धेरै मानिसलाई प्रसाद खुवाएमा पितृले मोक्ष गति प्राप्त गर्छन् भन्ने जनविश्वास छ भन्ने जानकारी दिनुभयो । त्यस्तै थप उदाहरण दिने क्रममा नेपालकै केही क्षेत्री समुदायमा १३ औं दिनका दिन प्रसादको रुपमा मासु राख्ने चलन छ । हाम्रै नेपालमा श्राद्धको बेलामा पिण्डमा पितृलाई मासु अर्पण गर्ने चलन छ । कुमाइँ ब्रह्मणले नुन खाने चलन, बुहारीले काजक्रिया गर्नु पर्ने संस्कार छ । तराईका केही जिल्लामा गुरु, शुक्र अस्त बार्ने चलन छैन । केही जातजातिमा मृतकको सदगतमा बाख्रो काटेर खाने चलन छ । केही जातिमा १३ दिनसम्म तामाको ताउलोमा राखेर श्रद्धाञ्जली राखेर श्रद्धाञ्जली दिने प्रचलन छ भन्ने जानकारी उहाँले दिनुभयो ।
वास्तु शास्त्रको महत्व :
ज्योतिषविद् पण्डितले घरको जग खन्दा, गृह प्रवेश गर्दा र घर निर्माण गर्दा वास्तु शास्त्र अनुसार जुराउनु पर्नेमा जोड दिदै वास्तु जुराइएन भने विभिन्न प्रकारको रोग उत्पन्न हुने, गृह स्वामी नास हुने, जनवास शून्य हुने आदि जस्ता घट्ना हुने हुनाले बृषवास्तु चक्र जुराएर मात्र गृह सम्बन्धी काम गर्नु पर्छ भन्ने उल्लेख गर्नु भयो ।
आयुर्वेदिक दृष्टिमा धेरै गुण भएको अमलाको विरुवा घर कम्पाउण्डमा रोप्नु पर्नेमा जोड दिदै अमलाको विरुवाले भूतप्रेस, वायु, पिचासहरू वा विज्ञानको भाषामा दुषित वायु नलाग्ने हुन्छ भन्नुभयो । त्यस्तै, पितृ स्वर्ग जाओस् भन्नका लागि स्कन्ध पुराणको उद्धरण गर्दै शव दाह गर्दा कण्ठ, छाती र नाभीमा अमलाको दाता राखिदिनु पर्ने भनिएको उहाँले जानकारी दिनुभयो ।
पितृहरूलाई मनपर्ने भएको हुनाले पारिजातको उपयोग श्राद्ध आदिमा गर्नु राम्रो हुने उहाँले बताउनु भयो । पारिजात आयुर्वेदिक हिसावले कमलपित्त हुँदा, पेटको गानोगोलामा समेत औषधीय गुण भएको महत्वपूर्ण वनस्पति भएको उहाँले दर्साउनु भयो ।
त्यस्तु, तुलसीको महत्वमा प्रकाश पार्नु हुँदै यो विष्णुको रुप मानिन्छ भने तलसीमा अग्सिजनको मात्रा बढी उत्सर्जन गर्ने विज्ञानले पनि सिद्ध गरेको छ भन्दै मानिसको अन्तिम अवस्थामा पुगेको बेलामा भेन्टिलेटरको काम गर्ने जस्तो महत्व बताउनु भयो । त्यस्तो थप उदाहरण दिनु हुँदै ‘उत्तरमा केरा, दक्षिणमा बाँस, पश्चिममा तुलसी वंशको नास’ भन्ने उदाहरण दिदै तुलसीलाई पश्चिम दिशामा सार्नु हुँदैन उहाँले भन्नुभयो ।
वंशावलीमा कुनै बन्धु नछुटुन् भन्ने प्रयत्न जारी छ र बसै बन्धुको सहयोग चाहन्छौं :
प्रमुख अतिथि कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानद्वारा केन्द्रीय सदस्य सीताराम अधिकारीले प्रमुख आतिथ्य मन्तव्य व्यक्त गर्नु हुँदै पूजा विधि, वंशावली प्रकाशनमा भए गरेका प्रयास र वंश प्रतिष्ठानले गरेको एकता प्रयासका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले अव एउटै पूजा विधि अनुसार बली रहित कुल पुजा गर्ने सन्देश प्रवाह प्रतिष्ठानले गरिरहेको जानकारी दिनुभयो । त्यसैगरी, वंशावली प्रकाशनको तयारी र प्रगतिका बारेमा प्रकाश पार्नु हुँदै मुलुकभर रहनु भएका कुनै पनि बन्धु नछुटुुन्, कुनै ठाउँमा एक मात्र छ भने पनि त्यो समेत समेट्न भनेर प्रयत्न गरिएका छौं, त्यसमा सबै बन्धुहरूबाट सहयोग चाहन्छौंं भन्ने जानकारी दिनु भयो । त्यसरी प्रकाशन हुने किताबको ठेली किन्नोस् नकिन्नोस् तपाईको निजी सोच हो तर त्यो ऐतिहासिक दस्तावेजको रुपमा प्रकाशन हुन लागि रहेको हुँदा र अन्तिम पटक पनि प्रकाशन हुदै गरेको छ । त्यसैले पनि त्यसमा कुनै पनि अधिकारी छुट्नु हुन्न भन्ने धेयका साथ काम गरिएको छ, यहाँहरूले आफ्नो पारिवारिक सूचि अझै पनि नपठाएको भए पठाउन सक्ने तर ढिला भने गर्ने समय नभएको बताउनु भयो । त्यो दस्तावेज भोलिका दिनमा किन्छु भनेर पनि पाउने स्थिति हुने छैन तर त्यसको एकप्रति रहेक घरमा रहन आवश्यक भने रहेको उल्लेख गर्नुभयो ।
संस्कार जोगाउन लाज र अपनाउन डरमान्नु हुँदैन :
सो प्रतिष्ठानका केन्द्रीय सल्लाहकार एवम् राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले आफ्नो संक्षिप्त मन्तव्यमा वंशको पहिचान भएन भने अधिकारी कश्यप को हो ? भन्ने थाहा हुन्न, त्यसैले पहिचान बचाउनु हामी सबैको कर्तव्य हो त्यसको ख्याल गरौं भन्नुभयो । त्यो पहिचान बनाउन÷जोगाउन वंशावली तयार गरिन लागेको छ, त्यसमा कोही छुट्न भएन र त्यो एक प्रति रहेक घरमा राख्न आवश्यक छ यसतर्फ ध्यान दिउँ उहाँले आह्वान गर्नुभयो । उहाँले श्राद्धको बेला तर्पण दिँदा तीन पुस्ताका पितृको नाम भन्न नसकेको स्थिति छ तर प्रतिष्ठानले मुलुक भरका अधिकारीहरू समेटेर वंशावली तयार गर्ने कार्य गर्दैछ, जो सजिलो छैन र पनि प्रयत्न भएको छ हामी सबैले त्यो प्रयासा सहयोग गरौं र कोही नछुटौं भन्ने उल्लेख गर्नु भयो ।
संस्कारको महत्वमा प्रकाश पार्नु हुँदै उहाँले बाबु–आमाप्रति छोराछोरीहरू जन्माउने, हुर्काउने, पढाउने गरेका कारण कृतज्ञ हुनु स्वभाविक हो उहाँले भन्नुभयो । त्यसैगरी, विहानदेखि बेलुकासम्म उज्यालो दिएर हामीलाई काम गर्ने मौका दिने सूर्य लगायतका पञ्चमहाभूत(तत्व) प्रति पनि कृतज्ञ हुनुपर्छ यो हाम्रो संस्कार हो । उहाँले जोडदिदै भन्नुभयो, ‘संस्कार जोगाउन लाज र त्यसलाई अपनाउन डर मान्नु हुँदैन, हामीले हाम्रा १६ संस्कारहरू गर्भदेखि मृत्युसम्मका सबै गर्नु पर्छ जो जान्नु पर्छ हाम्रो पहिचान त्यही हो, यस्तो कार्यमा यो समितिबाट भएको प्रयास सराहनीय छ भन्नुभयो ।
दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले सम्मान ग्रहणपछि शुभकामना मन्तव्यका क्रममा हलोक्रान्ति स्थलको स्मरण गर्दै कुल वंशको ऐतिहासिक गौरवलाई बचाउन आवश्यक रहेको र आजको दिनले आफूलाई खुशी दिएको बताउनु भयो । उहाँले गाउँपालिकाको अध्यक्ष पद पाउनका लागि यो वंश प्रतिष्ठानको समेत हात रहेको भन्दै वंशजका लागि एक हुने परम्परालाई थप उजागर गर्न आवश्यक छ भन्नुभयो । सो अवसरमा उहाँले आफ्नोतर्फबाट प्रतिष्ठानको अक्षयकोषका लागि १० हजार पाँच सय रुपैयाँ प्रतिष्ठानका अध्यक्ष तुलसीविकास अधिकारीलाई प्रदान गर्नु भएको थियो । सो अवसरमा अध्यक्ष अधिकारी सहित वडामा विजयी हुने सोही गाउँपालिका– १ का अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी तथा सुन्दरबजार नगरपालिका– ४ का अध्यक्षलाई समेत सम्मान गरिएको जानकारीमा आएको छ । 
प्रतिष्ठानका नेपालका ६४ जिल्लाका साथै विदेशका आठ देशमा शाखा खुलेको र हाल २८ लाख सदस्य रहेको, विश्वमा छरिएर रहेका कश्यप गोत्रीय अधिकारीको जनसंख्या ६० लाख रहेको आंकलन :
यसैगरी, झापाबाट आउनु भएका प्रतिष्ठानका केन्द्रीय सदस्य चन्द्रमणि अधिकारीले वंश प्रतिष्ठानको स्थापनाकालीन इतिहासका बारेमा जानकारी दिनुभएको थियो । २०४९ सालमा खेमनाथ अधिकारीको संयोजकत्वमा प्रतिष्ठान स्थापना गरी गतिविधि अघि बढाएको उहाँले बताउनुभयो । उहाँले यो प्रतिष्ठानका नेपालका ६४ जिल्लाका साथै विदेशका आठ देशमा शाखा विस्तार भएको र हाल २८ लाख सदस्य रहेको जानकारी दिदै विश्वमा छरिएर रहेका कश्यव गोत्रीय अधिकारीको जनसंख्या ६० लाख रहेको आंकलन गरिएको छ भन्नुभयो । उहाँले हामी ती सबैलाई वंशावलीमा जोड्ने प्रयत्न गरिरहेका छौं त्यसमा कोही छुट्नु भएको लाग्छ भने छिटोभन्दा छिटो जानकारी पठाउन अनुरोध गर्नुभयो ।
यसैगरी, नेकपमा एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले शुभकामना मन्तव्य दिदै प्रतिष्ठानको जिल्ला शाखाबाट गरिएका कार्यलाई आफूले नजिकबाट हेरेर विगतका भेलामा सहभागी हुने प्रयत्न गर्दा गर्दै पनि नसकेको स्मरण गर्दै आज छोटो समयका लागि पनि सहभागी हुन पाए प्रतिष्ठानबाट भएका कार्यले समाजमा सकारात्मक सन्देश दिएको उल्लेख गर्नु भयो । उहाँले अक्षयकोषका लागि १० हजार पाँच सय पाँच रुपैयाँ प्रदान गर्नु भएको थियो ।
ऐतिहासक थलो दुराडाँडाबाट अर्को ऐतिहासिक कार्यको थालनी :
प्रतिष्ठानका अर्का केन्द्रीय सदस्य नवराज पहाडीले दुराडाँडा जस्तो ऐतिहासक थलोमा आजको दिनबाट फेरि अर्को ऐतिहासिक कार्यको थालनी भएको छ, यस्तो उदघोष गर्न पाउँदा गर्वको अनुभव भएको छ, हाम्रा पूर्वज जस्ले यहाँको माटोमा अधिकारीको वंश स्थापना गरे द्वारिकादास र यो कर्मभूमिमा शैक्षिक, सामाजिक, आयुर्वेदिक, आर्थिक एवम् राजनैतिक आन्दोलनको अभियान एकै साथ २००६ सालमा हलोक्रान्ति गर्ने नायक पं. तोयनाथ अधिकारी लगायतका पूर्वजहरूको आत्मासमेत आज हर्षले गद्गद भएको हुनुपर्छ भन्नुभयो । उहाँले अभियान बारेका भन्नुभयो, ‘आर्यवर्त संस्कार संस्कृति बचाउने या पुनर्जागरण अभियानको थालनी र अधिकारी वंशका विपन्न परिवार परिचान गरी ती परिवारको उत्थानका लागि त्यस्ता परिवारका कम्तिमा एक जना बाबु– नानीलाई छात्रबृत्ती प्रदान गर्ने कार्यको थालनी गरिएको छ, यो क्रम भोलिका दिनमा पनि जारी रहने छ यो संख्यामा थप बृद्धि र त्यसका लागि हाम्रै बन्धु बीचबाट स्रोतको खोजी गर्नेछौं, ‘यो कार्यले समाजिक परिवर्तनको दिशामा सकारात्मक प्रभाव पार्ने छ’ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसीविकाश अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानको केन्द्रीय परिषदका सदस्य निलकण्ठ अधिकारी, जिल्ला सदस्य कमल अधिकारी, सर्वोदय माविका प्रधानाध्यापक नरेशकान्त अधिकारीलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा जेष्ठ नागरिक दुई जना, एसईईमा उत्कृष्ठ अंक ल्याउने छात्र निर्जल अधिकारी (बेसीशहर) र प्रकृती अधिकारी (भोटेओडार), संस्थापक शाखा अध्यक्ष हरिभक्त अधिकारी(दुराडाँडा), पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी(सुन्दरबजार), विभिन्न कार्यक्रमका सहयोगदाता सुभास अधिकारी प्रोपाइटर सप्तारङ्गी आर्ट(बेसीशहर)लाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा अन्य व्यक्तित्व अक्षयकोष दाता शिक्षक जनविकास मावि रमेश अधिकारी(बेसीशहर), जिल्ला सचिव गोविन्दप्रसाद अधिकारी(उदीपुर), जिल्ला सदस्य हरिराम अधिकारी(भारते) हुनुहुन्थ्यो । प्रतिष्ठानको अक्षयकोषमा रकम प्रदान गर्नु हुने अन्य बन्धुहरूलाई आउँदो कार्यक्रममा सम्मान गरिने जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार रुपाकोटका पिएचडी गर्नु हुने डा. शिवराज अधिकारी र पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारीेले पनि अक्षयकोषमा कम्तिमा १० हजार नगर प्रदान गर्ने बताउनु भएको जानकारी दिनु भयो ।
छात्रवृत्तीको घोषणा :
कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको जिल्ला समितिले हिजोको भेलामा तीन जनालाई छात्रवृत्ती दिने घोषणा गरेको कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उनीहरूलाई स्रोतको पहिचान गरी कक्षा– १२ सम्म सो छात्रवृत्ती प्रदान गरिनेभएको छ ।’ छात्रवृत्ती पाउनेमा अस्मिता अधिकारी, कक्षा : ४, संस्कृत सदन मा.वि., दुराडाँडा, सम्पन्न अधिकारी, सुन्दरबजार– ५, कक्षा : २, विद्याज्योती मा.वि., तार्कु खहरे, लमजुङ, र रोनिश अधिकारी, कक्षा : ४, त्रिभुवन मा.वि., मानेचौका, तनहुँ रहेको जिल्ला सचिव गोविन्द प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित विद्यायलमा सम्पर्क गरी उनीहरूका लागि वर्षदिनभर लाग्ने किताब, कापी, कलम, जाँच फिसका साथै एक वर्ष विराएर विद्यालयको पोशाक समेत प्रदान गरिनेछ ।
सो अवसरमा अध्यक्ष तुलसीविकास अधिकारीले प्रतिष्ठानको कार्यदिशा तथा सचिव गोविन्दप्रसाद अधिकारीले प्रगति प्रतिवेदन र सहसचिव पार्वतीदेवी अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।
उक्त भेलामा सभाध्यक्ष समेत रहनु भएका जिल्ला अध्यक्ष तुलसीविकास अधिकारीले धन्यवाद ज्ञापन गर्दै बिसर्जन गर्नु भएको कार्यक्रममा स्वस्तिवाचन सहित उदघाटन गरिएको थियो । स्वस्तिवाचन सोही विद्यालयमा अध्ययनरत वटुकहरूले गरेका थिए । प्रतिष्ठानका जिल्ला उपाध्यक्ष सिर्जना अधिकारीले स्वागत गर्नु हुँदै उक्त प्रतिष्ठानको जिल्ला शाखामा १४१ जना सदस्य पुगेको उपाध्यक्ष सिर्जना बरालले बताउनु भयो । सो कार्यक्रमको सञ्चालन सचिव गोविन्द अधिकारीले गर्नु भएको थियो ।
अन्तरङ्ग न्युज






