Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

विज्ञान सङ्ग्रहालय विकास समितिले दियो गलत सूचना

सुर्खेत ।
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वि.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्राहलय विकास समितिले प्रकाशित गरेको आषाढ २१ गतेको पृथ्वी र सूर्यको दुरीका बारेमा दिइएको सूचना गलत रहेको छ । समितिले आषाढ २१ गते पृथ्वी सूर्यभन्दा सबभन्दा टाढा रहने र दिन सबभन्दा लामो तथा गर्मी अत्याधिक हुने भनि सूचना नै प्रकाशित गरेको छ । जुन आफैमा गलत छ ।
यस सम्बन्धमा वास्तविकता के हो भनि विश्व पञ्चाङ्ग निर्णय संघका महासचिव एवम् महाकालेश्वर पञ्चाङ्ग सारिणीकर्ता तथा खगोलविद श्रीराधे गोविन्दले भन्नुभयो, ‘विपि कोइराला प्लानेटोरियम तथा अब्जरबेटरी र विज्ञान संग्रहालय विकास समितीले आषाढ २१ गतेलाई उत्तरी गोलार्धमा सबैभन्दा लामो दिन भनेर निकालेको विज्ञप्ति त्रुटिपूर्ण र भ्रामक छ । यसलाई तुरुन्त सच्याउन समितिलाई आग्रह छ ।’

सिद्धान्त ज्योतिषको आधारमा सायन कर्क संक्रान्तिको दिन सूर्यको किरण पृथ्वीको सबैभन्दा उत्तरी अक्षांश (कर्क रेखा) मा लम्बवत् (सिधा) पर्न जान्छ । फलस्वरुप उत्तरीध्रुवमा वर्षको सबैभन्दा लामो दिन र दक्षिणी ध्रुवमा सबैभन्दा छोटो दिन हुन जान्छ । यो समय आषाढ ६÷७ गते पर्छ । आधुनिक विज्ञानको आधारमा पनि उत्तरीध्रुवमा जून २१ तारीखका दिन सबैभन्दा लामो दिन हुन्छ । सायन कर्क संक्रान्ती, आषाढ ६÷७ गते अथवा जून २१ भन्नू एकै दिन हो ।

हामीले व्यवहारतः अनुभव गर्दा पनि आषाढ ६÷७ भन्दा आज दिन केही छोटो तथा रात केही लामो भएको पाउँछौं । तसर्थ नेपाल सरकारको आधिकारिक संस्थाको रुपमा रहेको विपी कोइराला प्लानेटोरियम तथा अब्जरबेटरीले यस्तो गैरजिम्मेवारी पूर्ण कार्य गरेर जनमानसमा भ्रम छरेको प्रति खेद ब्यक्त गर्दछु साथै आम नागरिकलाई भ्रमको पछि नलाग्न अनुरोध गर्दछु उहाँले भन्नुभयो । यदि आज सबैभन्दा लामो दिन हुने नै हो भने कसरी हुन्छ भन्ने विषयमा गणितीय आधारका साथ टेवलटकको लागि प्रस्तुत हुन अनुरोध गर्दछु उहाँले थप्नुभयो । गलत कुरालाई सच्याउन अनुरोध गर्दा समेत सम्बिन्धत कार्यालयले नसुनेको उहाँले बताउनु भयो ।

यस सम्बन्धमा उक्त कार्यालयका नि. कार्यकारी निर्देशक डा. सनत कुमार शर्माले भन्नुभयो ‘ लेख्ने क्रममा गल्ती भयो होला तर दक्षिणी धुब्रको तुलनामा उत्तरी धुब्रमा गर्मी हुन्छ भन्न खोजिएको हो ।’ आफू अफिस बाहिर रहेको बताउँदै भोली मात्र त्यसलाई पुनः अध्ययन गर्ने डा. शर्माले बताउनु भयो ।

उक्त कार्यालयका सूचना अधिकारी सरोजराज शाहीले भन्नुभयो, ‘आजको दिन लामो हुँदैन तर दुरी भने लामो हुन्छ ।’

यस्ता महत्वपूर्ण विषयमा लेख्ने क्रममा गल्ती भयो भन्नु र आधारहिन विषयवस्तुहरु राख्नुले सर्वसाधारणमा भ्रम पैदा हुने गर्दछ ।