Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

के हो अधिकमास ? के गर्न हुन्छ, के गर्न हुँदैन ?

हाम्रो धार्मिक मान्यता त आफैमा गौरवमय छँदैछ । त्यसमा पनि विश्वव्यापी मान्यता प्राप्त ज्योतिष अर्थात् खगोलीय विद्या पनि हाम्रै वेदबाट लिइएको हो । वेदको आँखाको रुपमा मानिएको ज्योतिषीय ज्ञानले सूक्ष्मातिसूक्ष्म अवस्थालाई गणितको माध्यमबाट पत्ता लगाउने काम गर्दछ । वास्तवमा ज्योतिष भनेको त्रिकालदर्शी हो । त्रिकाल भन्नासाथ विगत, वर्तमान र भविष्य । विगतमा के भइरहेको थियो वर्तमानमा के हुन्छ वा हुँदैछ र भविष्यमा के हुनेछ भनेर अध्ययन गर्ने विषय नै ज्योतिषशास्त्र हो । त्यसको पूर्णताका लागि खगोलीय अध्ययन नै महत्वपूर्ण हुने गर्दछ । अतः ज्योतिषले चन्द्र सूर्यदेखि विभिन्न ग्रहहरु, तारामण्डल अर्थात् नक्षत्रहरुको बारेमा अध्ययन गर्दछन् । त्यसबाट नै वर्ष महिनादेखि सेकेण्डसम्मको समयको समेत अध्ययन गर्ने गरिन्छ ।

पञ्चाङ्गकार ज्यो. खगेन्द्र प्रसाद अधिकारी

अधिकमास अर्थात् मलमास । मल र मास मल भनेको नराम्रो चीज र मास भनेको महिना भन्ने अर्थ लगाएर यो त असाध्यै नराम्रो महिना भनेर बुझ्नेहरुको पनि कमी छैन । तर यसलाई हामीले सकारात्मक रुपमा अर्थ लगाउन जरुरी छ । आफूभित्र रहेका दुर्गुणहरु हटाउने महिना हो मलमास । विकृत सोच, नराम्रा भावनाहरु, आफ्ना कमीकमजोरीहरु काम नलाग्ने चीजहरु हटाउने महिना हो मलमास । मलमास हुँदैमा नराम्रो मात्र होइन कतिपय कामहरु राम्रा पनि गरिन्छ मलमासमा । अर्को बुझ्नै पर्ने कुरा के छ भने अधिक र मास यी दुई शब्दहरु मिलेर अधिकमास बनेको छ । अधिक भनेको धेरै र मास भनेको महिना । जुन सालमा अधिकमास पर्दछ त्यो सालमा चान्द्रमास अनुसार १३ महिनाको वर्ष हुने गर्दछ । सौरमास अनुसार १२ महिना भएपनि एक महिना अधिकमास पनि थपिएकाले यस्ता साल १३ महिनाको एक वर्ष हुने गर्दछन् । जुन कुरा चान्द्रमासको बारेमा जानकारी राख्नुहुनेहरुले सहजै बुझ्नुुहन्छ ।

यही श्रावण २ गतेदेखि अधिकमास छ भन्ने कुरा त हामीले सुनेका छौ र पञ्चाङ्ग प्रयोगकर्ताहरुले पञ्चाङ्गमा समेत देखे पढेका छौ । यो वर्ष अर्थात् २०८० सालमा श्रावण २ गते मंगलवारका दिनदेखि श्रावण ३१ गते बुधवारका दिनसम्म अधिकमास रहेको छ । तर अधिकमास के हो र यसमा के गर्न हुन्छ वा के गर्न हुँदैन भन्ने जिज्ञाशा भने धेरैको मनमा लागिरहेको छ । हो कतिपय सम्बन्धितहरुलाई यसको बारेमा जानकारी पनि छ होला तर सर्वसाधारणहरुलाई पनि सजिलो होस् भन्ने हेतुले यहाँ अधिकमासको बारेमा चर्चा गर्ने जमर्को गरिएको छ ।

अधिकमासलाई पुरुषोतम मासका रुपमा पनि शास्त्रले व्याख्या गरेको छ । त्यसैले पुरुषोत्तम भगवानका लागि ३३ वटा मालपूवाहरु दान गर्नुपर्दछ । एउटा शास्त्रीय भनाई के छ भने सबैका इष्टदेवहरु छन् । यसैगरी महिनाहरुका पनि देवताहरु छन् । जस्तै आइतवारका सूर्य, सोमवारका शिव, मंगलवारका गणेश आदि । तर मलमासका देवता नभएकाले मलमासले भगवान पुरुषोत्तम कहाँ गएर विन्ति गरे अरु सबैको मूलदेवताहरु छन् तर मेरो त देवता नै भएनन् भनेर विन्ति गरेपछि भगवान पुरुषोत्तमले भन्नुभयो मेरो शरणमा पर्नेलाई मैले रक्षा गर्नु मेरो कर्तव्य हो । त्यसैले तिमी मेरो पूजन गर्नु । अधिकमासमा मेरो ध्यान गर्ने, मेरो पूजा गर्ने गरेको खण्डमा त्यसो गर्ने मान्छेको पितृहरु उद्दार हुन्छन् । त्यस्ता व्यक्तिले मरेपछि मोक्ष प्राप्त गर्नेछन् भनिदिनु भयो । त्यसदिन देखि अधिकमासलाई पुरुषोत्तम मासका नामले अनुशरण गर्न थालिएको हो भन्ने कुरा नारदिय पुराणमा उल्लेख गरिएको छ ।

अधिकमासलाई मलमास पनि भनिन्छ । मलमास विशेष गरी वैशाखदेखि असोज महिनाका बीचमा पर्ने गर्दछ । यो तीन तीन वर्षका अन्तरमा परिरहने गर्दछ । मलमास २९ देखि ३२ महिनाको अन्तरमा पर्ने गर्दछ । मोटामोटी ३२ महिना १६ दिन ४ घटीका व्यतित भएपछि अधिकमास हुने गर्दछ । सजिलोसँग बुझ्न सकिने कुरा के भने जुन चान्द्रमास भित्र सूर्य सक्रान्ति पर्दैन त्यो चान्द्रमास अधिकमास हुने गर्दछ । हामीले हाम्रो जीवनकालमा गरिने कर्म तीनवटा हुन्छन् । नित्य, नैमित्तिक र काम्य कर्म । नित्य भन्नासाथ निरन्तर गरिरहेका कर्महरु । नैमित्तिक भन्नासाथ भैपरी आउने कर्महरु र काम्य भन्नाले कुनै कुराको पूर्णता होस् भन्ने कामना गरेर गरिने कर्महरु । मलमासमा ६० दिनको १ महिना हुन्छ । १३ महिना देखिए पनि श्रावण महिनालाई ६० दिनको बनाईएको हुन्छ ।

मलमासमा गर्नै नहुने कार्यहरु पनि छन् । मलमासमा नयाँ कार्यको थालनी गर्न शास्त्रले निषेध गरेको छ । जस्तै नयाँ घरको निर्माण प्रारम्भ गर्नुहुँदैन । नयाँ घरमा प्रवेश (गृहप्रवेश) गर्नु हुँदैन । घरको वास्तुपूजा पनि गर्नु हुँदैन । जीवनमा कहिल्यै पनि नगएको तीर्थस्थल नयाँ तीर्थस्थलहरुमा जानु हुँदैन भने नयाँ वेदी निर्माण गरेर गरिने कार्यहरु गर्नुहुँदैन । भगवानका मूर्तिहरुको प्राण प्रतिष्ठा गर्नुहुँदैन । विवाहका लागि गरिने मगनी अर्थात् इन्गेजमेण्ट गर्नु हुँदैन । अधिकमासको समयमा गाईदान, भूमिदान, तुलादान, व्रतबन्ध, विवाह, नयाँ सवारी साधन खरिद, नयाँ व्यावसायको सुरुवात गर्नु पनि बन्देज गरिएको छ । यति मात्र होइन अधिकमासमा गर्भादान गर्नु समेत शुभ मानिदैन । अझ भन्ने हो भने नवविवाहित जोडिले अधिकमासमा सँगै बस्न हुँदैन भन्ने मान्यता छ । यदि पूरै महिना अलग अलग बस्न सम्भव छैन भने कम्तिमा १५ दिनसम्म त अलग बस्नै पर्ने शास्त्रिय मान्यता रहेको छ । १५ दिन पनि नसके ७ दिन त अलग बस्नै पर्दछ भन्ने शास्त्रीय मान्यता छ । यो समयमा गुरुदिक्षादेखी सन्यास लिनेसम्मका कार्यहरु पनि गर्नु हुँदैन । चुडाकर्म, कर्णभेद जस्ता कार्यहरु पनि बन्देज गरिएको छ । अन्नप्राशन र चौरासी पुजा र आतुर अबस्थामा पुगेकाको वैतरणि र ग्रहशान्ति पुजा गर्न कुनै बाधा पर्दैन । वार्षिकी श्राद्ध गर्न शुद्ध महिना चाहिन्छ । बरखी बोक्नेले पनि १ महिना थप बोक्नु पर्ने हुन्छ । मासिका खिच्नेले पनि थप १ महिनाको मासिका खिच्नु पर्ने हुन्छ । यी गर्न नहुने कार्यहरु गरिएको खण्डमा घरमा सबैभन्दा पहिले अशान्ति सुरु हुन्छ । विभिन्न ग्रहहरुले दुःख दिन सक्छन् ।

तर अधिकमासमा केही गर्न हुने कार्यहरु पनि छन् । जस्तै नित्यकर्महरु गर्न सकिन्छ । दैनिक स्नान गर्ने कार्य गर्नुपर्दछ । दैनिक रुपमा गरिने पञ्चायन देवताको पूजा गर्न हुन्छ । नित्य रुपमा गइरहने मन्दिरमा गएर पूजा गर्न सकिन्छ । नित्य गरिरहेका व्रतहरु गर्न सकिन्छ । जस्तै एकादशीका व्रत, सोमवारे व्रतहरु गर्न कुनै बाधा पर्दैन । जन्मकर्म र मृत्यु कर्महरु पनि रोकिदैनन् । किनकी जन्म र मृत्यु कर्महरु निरन्तर हुने भएकाले पनि रोकिदैनन् । निरन्तर रुपमा बस्दै आएका व्रतहरु गर्न सकिन्छ । गते अनुसार मनाइने जन्मदिन मनाउन सकिन्छ । चतुर्मासको व्रत गर्न हुन्छ । अधिकमासमा भगवान नारायणका पूजाहरु नित्य रुपमा गर्नु पर्दछ । एउटा बुझनै पर्ने कुरा के भने अधिकमासमा मरण हुने मान्छेको श्राद्ध अर्को वर्ष त्यही पक्षको त्यही तिथिमा गर्नुपर्दछ ।

अब २०८३ सालको जेठ ३ गते रविवारदेखि असार १ गते मंगलवारका दिनसम्म अधिकमास आउनेछ ।

यसैगरी यही श्रावणमा शुक्र अस्त छन् । श्रावण १८ गते विहीवार १९:१० बजे शुक्र पश्चिममा अस्त हुँदैछन् । एकातिर पुरुषोत्तम अर्थात् अधिकमास र अर्कोतिर शुक्र अस्त पनि भएकाले यो महिनामा काम्य कर्महरु त नहुने नै भए । शुक्र अस्तमा पनि अधिकमासमा जस्तै काम्य कर्महरु गर्नु हुँदैन भन्ने शास्त्रिय मान्यता रहेको छ । २०८० सालको भाद्र १ गते शुक्रवार ०७:०७ बजे पूर्वमा शुक्र उदय हुनेछन् । शुक्र उदय भएको ३ दिनसम्म बालत्व अवस्था रहने भएकाले भाद्र ३ गतेका दिनसम्म नै काम्य कर्महरु निषेध छन् । त्यसपछि भने विभिन्न मुहूर्त तथा साइतहरुमा सबै कर्महरु गर्न सकिनेछ ।