Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

केतकी (दृक) सिद्धान्तमा पञ्चाङ्ग प्रशिक्षण हुँदै

सुर्खेत ।
विश्व पञ्चाङ्ग निर्णय संघले केतकी (दृक) सिद्धान्तमा पञ्चाङ्ग गणितको प्रशिक्षण गर्न लागेको छ । यही आउँदो ज्येष्ठ १ गतेदेखि केतकी (दृक) सिद्धान्तमा पञ्चाङ्ग (पात्रो) को प्रशिक्षण दिन लागिएको विश्व पञ्चाङ्ग निर्णय संघका अध्यक्ष पञ्चाङ्गकार ज्यो. नारायणप्रसाद नेपालले जानकारी दिनुभयो ।


नेपालमा तयार हुने पञ्चाङ्ग (पात्रो) हरु सूर्यसिद्धान्तमा तयार हुँदै आएका छन् । तर अब दृक अथवा प्रत्यक्ष रुपमा आकाशमा देखिने ग्रह, तारा तथा नक्षत्रहरुको आधारमा पञ्चाङ्ग (पात्रो) तयार गर्न आवश्यक रहेको महसुस गरिएकाले उक्त सिद्धान्तमा हामीले ज्योतिषहरुलाई प्रशिक्षण दिन लागेका हौं ज्यो. नेपालले भन्नुभयो ।

सूर्य, ग्रहलाघव तथा केतकी लगायतका सिद्धान्तका विज्ञ खगोलविद् ज्यो. गोविन्द सापकोटाले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुने र उहाँका साथमा भिजिटर प्रशिक्षकहरु समेत रहने आयोजक संस्थाले जनाएको छ । यस पूर्व दई पटक पञ्चाङ्ग (पात्रो) निर्माणका लागि प्रशिक्षण दिइसकेको र उक्त प्रशिक्षणले अपार सफलता प्राप्त गरेपछि केतकी सिद्धान्तमा पनि त्यो सफलता हाल लाग्ने ज्यो. नेपालले बताउनु भयो ।

ज्यो नारायणप्रसाद नेपाल पञ्चाङ्गकार, ज्यो. ज्ञानप्रसाद भण्डारी ज्योतिषाचार्य तथा पञ्चाङ्गकार तथा अन्य विज्ञ गुरुहरुको समेत सहभागीता रहेकाले केतकी सिद्धान्तको प्रशिक्षण पञ्चाङ्ग तयार गर्न चाहनेदेखि पञ्चाङ्गको प्रयोग गर्नेहरु समेतका लागि उपयोगी हुने विश्वास लिएको विश्व पञ्चाङ्ग निर्णय संघका महासचिव समेत रहनुभएका खगोलविद्, प्रमुख प्रशिक्षक ज्यो. गोविन्द सापकोटाले बताउनु भयो ।

यता नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि वि.सं २०८३ देखि केतकी सिद्धान्तमै पञ्चाङ्ग तयार गर्ने भारतमा भएको ज्योतिषहरुको भेलाले समेत केतकी सिद्धान्तमै पञ्चाङ्ग तयार गर्ने सहमति गरिसकेका छन् । यही वैशाख २७ गतेसम्म नाम दर्ताको समय राखिएको र ज्येष्ठ १ गतेदेखि अनलाइन मार्फत विश्वव्यापी रुपमा प्रशिक्षण सुरु हुने प्रमुख प्रशिक्षक ज्यो. सापकोटाले बताउनु भयो ।