Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

केतकी (दृकतुल्य) गणित प्रशिक्षण सुरु

सुर्खेत ।
विश्व पञ्चाङ्ग निर्णय संघको आयोजनामा केतकी गणित प्रशिक्षण सुरु भएको छ । अनलाइन मार्फत प्रशिक्षण सुरु गरिएको आयोजक संस्थाका महासचिव एवम् खगोलविद् महाकालेश्वर पञ्चाङ्ग सारिणीकर्ता तथा प्रमुख प्रशिक्षक श्रीराधे गोविन्दले जानकारी दिए ।
दृक गणितलाई विश्वले मान्दै आएको अवस्थामा हामीले नेपालमा पनि दृकतुल्य गणितको आवश्यकता महसुस गरी बैंकटेश्वर ग्रह केतकी सिद्धान्त र मराठी ग्रह गणित मालिकाद्वारा पञ्चाङ्ग गणितको प्रशिक्षण सुरु गरेका हौ श्रीराधे गोविन्दले प्रशिक्षण कार्यक्रमको उद्घाटनमा बताए । ज्योतिष शास्त्र प्रत्यक्ष शास्त्र भएकाले पनि आकाशमा देखिने ग्रहको अवस्थालाई पञ्चाङ्गमा उल्लेख गर्न आवश्यक छ । सूर्य सिद्धान्त केही स्थुल भएको तर कामै नलाग्ने भएको भने होइन प्रमुख प्रशिक्षक श्रीराधे गोविन्दले स्पष्ट पारे । उनले थपे, परम्परागत रुपमा निर्माण हुँदै आएका पञ्चाङ्गहरुमा केही स्थुलता देखिएको छ त्यो कामै नलाग्ने भएको भने होइन ।
नजानेकालाई सिकाउनु पर्छ र जानेकाबाट सिक्नुपर्छ भन्ने आफ्नो सिद्धान्त भएकाले पनि यस्ता प्रशिक्षणहरु संचालन हुने र उक्त सिद्धान्तलाई विश्व पञ्चाङ्ग निर्णय संघले पनि अनुशरण गरिरहेकाले ज्योतिष उत्पादनका क्षेत्रमा सहयोग पुगेको छ प्रमुख प्रशिक्षक श्रीराधेले बताए ।
यही ज्येष्ठ १ गतेदेखि सुरु भएको उक्त पञ्चाङ्ग गािण्त प्रशिक्षण डेढ महिनासम्म संचालन हुनेछ । अहिले २६ जना प्रशिक्षणार्थीहरुले प्रशिक्षण लिइरहेका छन् । विश्व पञ्चाङ्ग निर्णय संघका अध्यक्ष तथा पञ्चाङ्गकार ज्यो. नारायणप्रसाद नेपालका अनुसार यो तेस्रो पटक आयोजना गरिएको पञ्चाङ्ग गणितको प्रशिक्षण कार्यक्रम हो । यसभन्दा अगाडि दुई पटक सूर्य सिद्धान्तमा आधारित रहेर पञ्चाङ्ग प्रशिक्षणहरु संचालन भइसकेका छन् ।


यसैगरी उद्घाटन कार्यक्रमको प्रमुख अतिथि तथा उपप्राध्यापक ज्यो. दिनानाथ पण्डितले नेपाल पञ्चाङ्ग निर्णायक समितिले समेत दृक सिद्धान्तमा जाने निर्णय गरिसकेको र भारतीय ज्योतिषहरुले पनि दृक सिद्धान्तमा जान आवश्यक भएको बताइसकेका बेला विश्व पञ्चाङ्ग निर्णय संघले जुन केतकी सिद्धान्तको प्रशिक्षण सुरु गरेको छ यो निकै उपयोगी कार्य भएको बताए । उनले भने, अहिले नेपालमा पात्रो गणना गर्दा गोलमोटल भएको छ । विश्व पञ्चाङ्ग निर्णय संघले केतकी सिद्धान्तको प्रशिक्षण गर्दै गर्दा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पनि आँखा खुलेको होला सायद त्यसैले होला केतकी सिद्धान्तबाट नै पञ्चाङ्ग निर्माण गर्ने निर्णय गरेको छ । सकेसम्म २०८२ सालमै केतकी सिद्धान्तबाट पञ्चाङ्ग प्रकाशित गर्न आवश्यक छ उनको कथन थियो ।
उद्घाटन कार्यक्रममा पञ्चाङ्गकार माधव सापकोटाले भने दृकतुल्य गणितको आवश्यकतालाई परिपूर्ति गर्नका लागि विश्व पञ्चाङ्ग निर्णय संघले जुन भूमिका खेलेको छ त्यो आफैमा अतुलनीय छ । पछिल्लो समयमा गणितका प्रशिक्षणहरुमा कमी आइरहेका बेला यसरी गणितको प्रशिक्षण चलाउनु उदाहरणीय कार्य हो ।
प्रशिक्षण कार्यक्रममा चितवनबाट सुकदेव भागवत पञ्चाङ्गका पञ्चाङ्गकार ज्यो. माधव सापकोटा, स्याङ्जाबाट मुक्तिनाथ पञ्चाङ्गका पञ्चाङ्गकार ज्यो. ज्ञानप्रसाद भण्डारी नवलपरासीबाट फलित ज्योतिषका प्रशिक्षक बालकृष्ण आचार्य समेतको संलग्नता रहेको छ भने भक्तपुरबाट अनिल सुवाल, रुपन्देहीबाट नविन सुवेदी, किर्तिपुरबाट उपेन्द्र प्रसाद नेपाल, बनारस भारतबाट चन्द्रप्रसाद आचार्य, पोखराबाट रेशम ढकाल, सुर्खेतबाट आनन्दशरण खनाल, धर्मदेव अधिकारी र कश्यप पञ्चाङ्गका पञ्चाङ्गकार खगेन्द्रप्रसाद अधिकारी, डोटीबाट दीपक ओझा, काठमाडौंबाट गौरव जोशी, कृष्ण श्रेष्ठ, प्रितमराज राजोपाध्याय, सन्तोष ढकाल, नुवाकोटबाट हरिबोल कँडेल, पनौती काभ्रेबाट रत्न बञ्जारा, कञ्चनपुरबाट श्यामानन्द भट्ट, पोखराबाट हिरामणी पौडेल, बाबुराम तिमिल्सेना, उपप्राध्यापक कल्याण पन्त तथा आयोजक संस्थाका पूर्वमहासचिव हरिश्चन्द्र भण्डारी रहेका छन् ।