निर्वाचित पदाधिकारीले लिए सपथ : सबैलाई साथ लिएर अघि बढ्ने प्रतिवद्धता

सुर्खेत
८ जेठ २०७४
स्थानीय तहको पहिलो चरणको निर्वाचन २०७४ सम्पन्न भएको छ । यसै अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरुका साथै वडा सदस्यहरुले आज एक विशेष कार्यक्रमका बिच सपथ ग्रहण गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका नव निर्वाचित प्रमुख देबकुमार सुवेदी उपप्रमुख मोहनमाया भण्डारी (ढकाल) र १६ वटा वडाका वडा अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृत माननिय मुख्य न्यायधिस कैलास प्रसाद सुवेदीले प्रमाण पत्र प्रदान गर्दै सपथ ग्रहण गराउनु भएको थियो भने नव निर्वाचित वडा सदस्यहरुलाई नगर प्रमुख देबकुमार सुवेदीले सपथ गराउनु भएको थियो ।

सपथ ग्रहण पश्चात आयोजना गरिएको बधाई तथा शुभकामना प्रदान कार्यक्रममा नवनिर्वाचन प्रमुख देबकुमार सुवेदी तथा उपप्रमुख मोहनमाया भण्डारी (ढकाल) ले आफ्नो मन्तव्यको क्रममा वीरेन्द्रनगरमा रहेका सबै दलहरु, वीरेन्द्रनगरबासी लगायत सबैलाई मिलाएर अगाडि बढ्ने बताउनु भएको छ । त्यसैक्रममा नगर प्रमुख देबकुमार सुवेदीले भन्नुभयो – आज करिब २० वर्षपछि स्थानीय निकायले जनप्रतिनिधि प्राप्त गरेको छ । जनताको चाहना पूरा गर्ने जिम्मेवारी वीरेनद्रनगर बासीले हामीलाई दिनुभएको छ । त्यो जिम्मेवारी पुरा गर्नमा कुनै कसर बाँकी नराखी लाग्नेछौ ।

सपथ ग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।








