कथा– आत्मविश्वास
अछामको एउटा गाउँ । केही वर्ष अगाडिको कुरा । खासै राम्रोसँग चीनजान नभएको एउटा जोडि विवाह बन्धनमा बाँधिन्छ । उनीहरुका आमा बुबाको समन्वयमा । अभिभावकले कुरा चलाएपछि सामान्य देखादेख मात्र भएको थियो खिमा र जयन्तका बीचमा ।

कुरा त्यत्ति धेरै पहिलोको पनि होइन । सञ्चारको विकास भइसकेको थियो । मोवाइल फोन गाउँ–गाउँमा पुगिसकेका थिए । अभिभावकको सहमतिमा विवाह भएको भएपनि भित्रैदेखि माया पलाइसकेको थिएन उनीहरुमा । अलि अलि लजालु स्वभाव थियो खिमाको । हुन त गाउँका केटीहरु अलि लजालु नै हुने गर्दछन् शहरका भन्दा । जति शहरकाले जानेका हुन्छन् त्यति गाउँका जानेका हुँदैनन् भन्ने त होइन तर वातावरणले नै त्यस्तो असर पारेको हुन्छ ।
अझैँ पनि गाउँ परिवर्तन हुन धेरै समय लाग्छ होला । शहरमा विहान उठ्ने वित्तिकै चिया खोज्ने गरिन्छ तर गाउँमा डोको र नाम्लो खोज्नु पर्ने अवस्था छ । बुहारी मान्छे । विहान उज्यालो नहुँदै उठ्नु पर्छ । खिमा उठिन् । हत्तपत्त कसिङ्गर बढार्न कुचोको खोजिमा लागी । ‘टिङ्टिङ् टिङ्टिङ् टिङ्टिङ् …’ मोवाइलमा घण्टि बज्छ । कसले ग¥यो यति विहानै फोन । खिमाको मन अलि अलि आत्तिएको जस्तो छ ।
उता जयन्तले पनि कसको फोन हो भन्ने कुरालाई पत्तो लगाउन कान ढाडा पारेको छ ।
कुचो खोज्ने बहानासँगै विस्तारै बाहिर निस्किदैँ, ‘हेल्लो’ खिमाले फोन रिसिभ गर्छे ।
उताबाट ओई मलाई दुखी बनाएर तँ कसरी खुसी हुन सक्छेस हँ ? चर्को आवाजमा केटा मान्छे बोल्यो । को हो र मैले चिनिन त, खिमाले उत्तर फर्काइ ।
म तेरो राज चिनिनस् ?
खिमा छाङ्गाबाट खसे झै भई । भनि, राज अब हाम्रो बाटो नै फरक भइसकेको छ । किन फेरी सताउँन आउँछौ । मैले तिमीलाई धोका दिएर विहे गरेकी होइन । सबै कुरा तिमीलाई थाह छ त । तिमीले मलाई छोडेका हौं । तर पनि मैले तिमीलाई माफी दिईसकेकी छु । केही समय देखावटी माया गर्ने अनि बाटो बदल्ने फेरि उल्टै मलाई तनाव दिने ? तिमी आफैले मलाई बिच बाटोमा छोडेर गयौ । तिमीलाई सम्झेर कति दिन बस्नु मैले ? अनि आमा बुबाको सल्लाहमा नै मैले विवाह गरे । तिम्रो र मेरो सम्बन्ध त्यसै दिन सकिएको हो जुन दिन तिमीले मलाई घण्टौ कुराएर हराएका थियौ । अलि अलि रिसाएको स्वरमा खिमा एकोहोरो बोलिरही ।
राज अव तिमी मेरो सिन्दुर र जिन्दगी बिगार्न नआउ । मैले भगवान जस्तो श्रीमान् पाएकी छु । मेरो आमा बुबाले खोजिदिनु भएको । तिमी सँग माया लगाएँ तर तिम्रै कारणले सफल हुन सकिन । अब प्लिज राज तिमी मेरो बदनाम गर्न नआउँ ता कि म आज विश्वास जुटाएर सबैको मन मुटुमा छु । म जसकी भएकी छु मुत्युसम्म पनि म उसकै हो । बुझ्यौ ।
अर्को कुरा राज तिमी त मेरो प्रेमि थियौ । उहाँ मेरो श्रीमान हो । तिमीसँग मेरो जान अन्जानमा जवानी बित्यो । तर मेरो श्रीमानसँग त मैले पुरा जिन्दगी बिताउँनु छ । प्लिज मेरो जिवनमा तिमी अब काँडे तार बन्ने कोसिस नगर । सुक्सुकाउँदै थिई खिमा । यी सबै क्रियाकलापको साँक्षी बनेको थियो जयन्त । केही महिना अघि मात्र विवाह गरेर ल्याएकी श्रीमतिको यस्तो चाला देखेर जयन्तलाई खपिनसक्नु भयो । खिमाको हातको मोवाइल खोसेर, हेल्लो को हो तपाई ?
राज एकहोरो बोल्न थाल्यो, म तेरो बुढिलाई माया गर्ने पागल हो ।
जो सँग मैले कयौं रात बिताएको छु । तेरै बुढीलाई सोध को हो भनेर ?
जयन्तले मुसुक्क हाँस्दै भन्यो, कसैको जिन्दगीसँग रमाएर विहे गरेर गएको मान्छेलाई दुःख दिनु माया भन्छौ तिमी ? अनि अर्को कुरा कसैको जवानीको फाइदा उठाएर बिच बाटोमा छोडेर जाने मर्द होइनन नार्मद हुन् ।
मेरी खिमाको विगतमा के भयो ? को सँग प्रेम थियो मलाई मतलब भएन । हाम्रो विहे अघि उनी को थिइन् ? के थिइन् र कसको थिइन् । त्यो गुनासो छैन मलाई । तर अब उनी कसैको बुहारी हुन् । कसैको जेठानी हुन् । कसैको देउरानी हुन् । कसैको अन्टी हुन् । कसैको माईजु हुन् र खास गरी खिमा मेरी श्रीमती हुन् । मेरो लागि अहिले उनी जे छिन् ठिक छिन् ।
अब तिमीले ति बिगतका कुरा सुनाउँदैमा टुटि जाने त्यस्तो कमजोर नाता छैन हाम्रो बुझयौ ? अलि कडा स्वरमा बोल्छ जयन्त । अनि उनको श्रीमती खिमाले अङ्गालो हाल्दै भनि, तपाईको यो माया, भरोसा र विश्वासमाथि मैले पनि कहिल्यै विश्वास टुटाउँने छैन ।
भनिन्छ । श्रीमान श्रमिती एक रथको दुइ पाङ्ग्रा हु्न । त्यसैले कसैले पनि विगतका कुरालाई कोट्याएर सम्बन्ध विगार्ने होइन । विगतलाई भुलाएर सम्बन्ध अगाडि बढाउनु पर्छ । किनकी श्रीमान श्रीमती भनेको धर्ति अनि आकाश हुन् । फोन काटेर जयन्त सम्झाइरहेको छ खिमालाई । केही समय अघि लग्लग् काँपेको खिमाको शरिर थोरै भएपनि स्थिर भएको छ । अलिकति भएपनि मनमा बल पलाएको छ । छोडिदेउ यस्ता कुरालाई र लाग आफ्नो काममा । खिमा कुचो लिएर कसिङ्गर बढार्न थाल्छे । जयन्तको आमा बुबाले भने यस कुराको भेउ समेत पाएका छैनन् । जयन्तको यस्तो कुरा सुनेपछि राजले अहिलेसम्म पनि खिमालाई फोन गर्ने आँट गरेको छैन ।









