आइतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने
सुर्खेत |
देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खुल्ने भएका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ ।
विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।

२०७६ चैत्र ११ गतेदेखि देशमा लकडाउन भएपछि मालपोत कार्यालय लगायत धेरै सरकारी कार्यालयले काम बन्द गरेका छन् । तर लामो समय लकडाउन भएपछि देशका अत्यावश्यक बाहेकका कामहरु ठप्प भएका छन् । जसले गर्दा एकातिर जनताको जीवन कष्टकर बन्दै गइरहेको छ भने अर्कोतिर अर्थतन्त्रमा समेत ठूलो ठक्का पुगेको छ । मालपोत कार्यालय खुलेपछि सम्बन्धित क्षेत्रमा केही सहज हुने अनुमान गरिएको छ ।






