Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

यातायात व्यवसायीले बैँकमा बुझाए गाडीको चाबी

कास्की |

बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरिएको भन्दै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकहरुले ऋणको मासिक किस्ता भुक्तानीका लागि दबाब दिन थालेपछि व्यवसायीले पोखरामा गाडीको चाबी नै बैंकलाई बुझाउने अभियान शुरु गरेका हुन् ।

प्रालिले सोमबार (२२ असार) एनएमबी बैंकमा ३०, मुक्तिनाथमा २५, गरिमामा १७ तथा प्राइम बैंकमा १८ गरी ९० गाडीको चाबी बुझाएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासङ्घबाट नेपाल सरकार तथा राष्ट्र बैंकसमक्ष हालको विषम् अवस्थामा किस्ता तिर्ने समय न्यूनतम ६ महिना थप गर्न आग्रह गरे पनि सुनुवाई नभएपछि बाध्य भएर गाडीको चाबी बुझाउन शुरु गरिएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए ।

‘हामीले बैंकलाई किस्ता तिर्दनौँ भनेका छैनौँ, तर गाडी ठप्प भएर कमाइ नभएको अहिलेको अवस्थामा समेत बैंकहरुबाट व्यवसायीलाई निरन्तर ताकेता हुन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिएका हौँ”, अध्यक्ष केसीले भने, “अहिलेको अवस्थामा किस्ता भुक्तानी गर्ने समय ५ महिना पछि सार्न माग गरे पनि कहीँकतैबाट पनि सम्बोधन भएन ।’

प्रालिले मातहतका एक हजार ४०० गाडीकै चाबी बुझाइने जनाएको छ । बैँक तथा वित्तिय संस्थाबाट ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानीमा यातायात व्यवसाय सञ्चालन हुँदै आएको बताइन्छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष ऐनकुमार साइले सरकार र राष्ट्रबैंकले आफूहरुको माग नसुनेका कारण आन्दोलनस्वरुप चाबी बुझाउन बाध्य भएको बताए ।

देशभर तीन लाख यात्रु बाहक तथा ६० हजार मालबाहक सवारी साधन अहिले ठप्प हुँदा १२ लाखले प्रत्यक्ष तथा ४० लाखले अप्रत्यक्ष रोजगारीबाट वञ्चित हुनुपरेको उनले जानकारी दिए ।

एनएमबी बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले आफ्नोे बैंकले यातायात व्यवसायीलाई किस्ता तिर्न ताकेता नगरेको बताउँदै व्यवसायीको मागका बारेमा राष्ट्र बैंकले ल्याउन लागेको आगामी वर्षको मौद्रिक नीतिबाट सम्बोधन हुने विश्वास व्यक्त गरे ।

ज्ञातव्य छ, सो प्रालिले पोखरालाई केन्द्र मानि देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत रात्रि तथा दिवा सेवामा यातायात सञ्चालन गर्दै आएको छ ।

घटना र  विचार बाट