कामै नगरि ७० लाख स्वाहा
सुर्खेत ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालन नै नभएका उद्योगमा ७० लाख लगानी गरेको छ । महालेखाको प्रतिवेदन अनुसार डिभिजन वन कार्यालय रुकुम पश्चिमले सिस्नो पाउडर उद्योग र डिभिजन वन कार्यालय दैलेखले अल्लो प्रशोधन उद्योगका नाममा सञ्चालनमा नआएका उद्योगलाई अनुदान दिएको कागज बनाएर ७० लाख रुपैयाँ हिनामिना गरेको हो ।
डिभिजन वन कार्यालय रुकुम पश्चिमले सञ्चालनमा नरहेको सिस्नो पाउडर उद्योग उद्योगलाई ११ लाख ८१ हजार भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, डिभिजन वन कार्यालय दैलेखले चामुण्डा विन्द्रासैनी नगरपालिका–१ र २ मा तामाङ्ग अल्लो प्रशोधन उद्योग स्थापना गर्न ५० लाख बजेट विनियोजन गरेकोमा २२ असोज ०७२ मा कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडलाई ४६ लाख ८२ हजार भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।






