भारत र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने
काठमाडौं ।
चाीनसँग भारत र अमेरिकाको विवाद बढिरहँदा दुवै देशलेसंयुक्त सैन्य अभ्यास गर्न लागेका छन् । अण्डमान र निकोबार टापु क्षेत्रमा अमेरिका र भारतका नौसेनाले चाँडै संयुक्त सैन्य अभ्यास गर्ने टाइम्स अफ इन्डियाले जनाएको छ । अमेरिकाले हालै चीनले दाबी गर्दै आएको दक्षिण चीन सागरमा दुईवटा विमान वाहक पानीजहाजसहित सैन्य अभ्यास गरेको थियो । यस क्षेत्रमा अमेरिकी दाबी नभएपनि अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि सैन्य अभ्यास गरेको बताएको थियो । चीनले अमेरिकी दाबी नभएको क्षेत्रमा अमेरिकी सैन्य अभ्यास हुनु आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कार्य भएको बताएको थियो ।

अमेरिकाले हालै यूएसएस निमिट्ज र यूएसएस रोनाल्ड रेगन विमान वाहक पानीजहाज दक्षिण चीन सागरमा लगेर सैन्य अभ्यास गरेको थियो । यूएसएस निमिट्ज विमान वाहक पानीजहाजसहित अमेरिकी नौसेनाले भारतसँग मिलेर सैन्य अभ्यास गर्ने जनाइएको छ । गत जुन १५ मा लद्दाख नजिकैको विवादित क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो । त्यसयता भारत र चीनबीच विवादलाई कम गर्ने हिसाबले वार्ता भइरहेको छ । आफू नियन्त्रित क्षेत्रमा विपक्षी सेनाहरु घुसेकाले झडप भएको दुवै देशको तर्क छ ।






