Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

नेपाली काँग्रेस सच्चिने कि सिद्धिने

बाइसे चौबिसे राज्यमा टुक्रिएको नेपाललाई तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहले एकिकरण गरे नेपाल विशाल नेपाल भएको हो । पृथ्वीनारायण शाहले विशाल नेपालको राजा हुने मोहले नेपालको एकिकरण गरेको भएपनि त्यसको अदृष्य नाफाको रुपमा नेपाल माथि पराइले धाबा बोल्न नसक्ने अवस्थाको नेपाल निर्माण हुनु हो । जसको कारण नेपाल अहिलेसम्म कसैको दास बन्नु परेन । पृथ्वीनारायण शाहको देहवसान पश्चात उनका सन्तानहरुले नेपालमा शासन गर्ने क्रममा भएका उतार चढावका कारण राजनीतिक रुपमा निकै डरलाग्दा घटनाहरु समेत भए । बहादुर शाह जस्तो व्यक्तिले निकै दुःख र कष्टको जीवन भोग्नु प¥यो भने दरबार भित्रै एक आपसमा असुरक्षित महसुस गर्नु पर्ने अवस्थाको सिर्जना भयो । त्यसैको परिमाणतः नेपालमा राणा शासनको उदय हुन पुग्यो ।


निरंकुश जहानियाँ राणा शासनको उदय भएपछि नेपाली जनताका धेरै अधिकारहरु दरबारमै सिमित भए । राणाहरुले आफ्नो सत्ता जोगाउने र मोजमस्तीमै रम्ने रमाउने कार्य बाहेक अरु केही गरेनन् । जनतालाई दासको रुपमा हेरेर आफ्नो स्वार्थपूर्तिमा लागेका राणाहरुको बीचमा आन्तरिक फुट आएपछि उनीहरु कमजोर बन्दै गए । अरु भन्दा जनताले शिक्षा हासिल गर्ने अवसर पाए उनीहरु बाठा हुन्छन् र आफ्नो थिचोमिचो सहन गर्दैनन् भन्ने उद्देश्य राखेर नै उनीहरुले जनतालाई शिक्षाबाट समेत बञ्चित गरे । तर जब उनीहरुको क्रुरताले सीमा नाघ्यो तब राणाहरुको विरुद्धमा विद्रोह शुरुवात भयो ।

भारतमा बसेर राजनीतिलाई नजिकबाट नियाली रहेका विश्वेश्वर प्रसाद कोइराला (विपी कोइराला) ले नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेर नेपालमा राणाहरुले गरेको अत्याचारका विरुद्धमा बोल्ने हिम्मत जुटाए । राणाहरुले गरेको अत्याचारबाट नेपाली जनतालाई मुक्त गर्न सकेको खण्डमा मात्र नेपालको शैक्षिकदेखि भौतिकसम्मको विकास हुन सक्छ र नेपाली जनता स्वतन्त्र भएर बाँच्ने पाउने अधिकारको सुनिश्चितता गर्न सकिन्छ भन्ने हेतुले विपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तको प्रतिपादन गरेका हुन । निकै ठूलो सहास र बुद्धिमत्तापूर्ण ढंगले उनले स्थापना गरेको समाजवादको नाराले जब विद्रोहको संखघोष ग¥यो तब आफ्नो राजनीतिक दासताको मुक्तीको लागि नेपाली जनताले उनलाई साथ दिए । राणाहरुको विरुद्धमा लड्नका लागि उनले जनमत तयार गरे । जसलाई संगठन निर्माणको रुपमा परिणत गरेर विपीले आफ्ना समर्थकहरुलाई तत्कालिन नेपाली राष्ट्रिय काँग्रेसमा आवद्ध गराए । त्यसरी बनेको वर्तमान नेपाली काँग्रेसको संगठन अहिलेसम्म पनि नेपाली राजनीतिमा बलियो स्थानमा रहेको छ ।

कुनै व्यक्तिबाट भन्दा पनि प्रजाबाट नै शासन पद्धतिको संचालन हुनुपर्छ भन्ने मान्यता बोकेका विपी कोइराला र उनले निर्माण गरेको संगठन नेपाली काँग्रेसले नेपालमा भएको पहिलो निर्वाचनमा ठूलो सफलता हात पारेको हो । तत्कालिन राजा महेन्द्रले गरेको कर्मका कारण विपी कोइरालाको पहिलो जननिर्वाचित सरकार त्यति धेरै लामो समयसम्म संचालन हुन सकेन र २०१७ साल पौष १ गतेका दिन नेपालमा पञ्चायति व्यवस्थाको शुरुवात भयो । उक्त पञ्चायति व्यवस्थाका विरुद्धमा पुनः संगठनको निर्माण गर्दा गर्दै जेल जीवन विताइरहेका विपी जीवनकै उतराद्र्ध तिर पुगिसकेका थिए ।

२०४६ सालमा नेपाल पुनः प्रजातन्त्रका लागि भएको आन्दोलनले सफलता प्राप्त ग¥यो । २०४८ सालमा भएको आम निर्वाचनमा नेपाली काँग्रेसले बहुमतको सरकार निर्माण गर्ने अवसर पायो । त्यतिबेला नेपाली काँग्रेसलाई बहुमत प्राप्त हुनुमा पनि विपीले नै निर्माण गरिदिएको संगठनको देन हो । २०४८ सालमा बहुदलीय प्रजातन्त्रको स्थापना भइसकेपछि मात्र होइन अहिलेसम्म पनि नेपाली काँग्रेस विपीले निर्माण गरिएको संगठनको धरातलमा उभिएको छ ।

अहिलेका नेपाली काँग्रेसका नेताहरुले सत्ता र स्वार्थ भन्दा माथि उठेर संगठनको निर्माणा गर्ने कुरामा सिन्को भाँचेका छैनन् । देशको राजनीतिक अवस्थाले लोकतन्त्र हुँदै गणतान्त्रिक शासन व्यवस्थामा संघीयताको अभ्यास गरिरहेका बेला अन्य राजनीतिक दलहरुले संगठन निर्माणमा जत्ति समय खर्चेका छन् त्यसको १ प्रतिशत पनि नेपाली काँग्रेसले खर्चेको देखिदैन । विपी कोइरालाले निर्माण गरिएको संगठन माथि नेपाली काँग्रेसले कहिलेसम्म राजनीति गर्ने ?

पार्टी राजनीतिमा उथल पुथल मच्चाएका शेरबहादुर देउवा अहिले पार्टी सभापति र देशको प्रधानमन्त्री समेत छन् । पश्चिम नेपालको डडेलधुरा निवासी देउवा हुन या पूर्विनेपालका सिटौला हुन् । यिनीहरुले संगठन निर्माणमा माखो मारेका छैनन् । जसका कारण नेपाली काँग्रेस दिन प्रतिदिन कमजोर बन्दै जानु स्वभाविक हो । संगठन विस्तारदेखि पार्टीका एजेण्डाहरु समयसापेक्ष रुपमा परिवर्तन गर्दै जनतालाई सही सुचनाको सम्प्रेषण गरी अघि बढ्न नसकेको खण्डमा एक दिन नेपाली काँग्रेस पतन हुन सक्छ ।

केवल निर्वाचनको बेलामा गरिने सभा र सम्मेलनले मात्र पार्टी बलियो बन्न सक्दैन भन्ने हेक्का समेत छैन अहिलेका सभापतिलाई । पार्टीका केन्द्रिय सभापति समेतको यस्तो हाल भएको बेलामा जिल्ला र क्षेत्रका नेताले के गरिरहेका होलान् सहजै अनुमान गर्न सकिन्छ । विपीको सिद्धान्तबाट प्रभावित भएर हो वा पारिवारिक राजनीतिक दबाबमा परेर हो नेपाली जनताले अहिलेसम्म नेपाली काँग्रेसलाई साथ दिएका छन् । राजनीतिक चेतनाको अभावका ारणा पनि यस्तो भएको हुन सक्छ । अब नेपाली जनताको राजनीतिक चेतनाको स्तर पहिलेको भन्दा धेरै माथि उठिसकेको छ । नेपाली जनता अब राजनीतिक बहस गर्नमा कमजोर छैनन् । उनीहरुले आफ्नो विवेक प्रयोग गरेर कसलाई सत्ताको बागडोर दियो भने देशमा के हुन्छ भन्ने राम्ररी बुझेका छन् । त्यसैले कि त नेपाली काँग्रेस सच्चिनु पर्छ कि त सिद्धिनु पर्छ ।