देशभर ७१ जना पत्रकार कोरोना संक्रमित
काठमाडौं |
देशभर ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९० को संक्रमणबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ ।
नेपाल पत्रकार महासंघको अभिलेखअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन् । जसमा केही पत्रकार महिलामा समेत संक्रमण देखिएको छ । महासंघको अभिलेखअनुसार मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन् ।
जसअनुसार प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन् । त्यस्तै प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । जसमा पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन् । बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन् । जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएक छन् ।
यसैगरी गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । जसमा कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन् । प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति हुन पुगेका छन् । त्यस्तै कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् । संक्रमितमध्ये केही निको भइसकेका छन् केही उपचाररत अवस्थामा रहेका छन् । पत्रकार महासंघले उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
महासंघले भनेको छ – यो विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय छ । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । महासंघले शुक्रबार विज्ञप्ति निकालेर संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै संक्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।’







