पुरस्कारका लागि साहित्यकार छनौट
रोल्पा
ललित साहित्य परिषद्, रोल्पा जिल्लाका ३ जना स्रष्टाहरुलाई छुट्टाछुट्टै तीन वटा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । परिषद्को आइतबार लिबाङमा बसेको बैठकले ‘सीमावारि सीमापारि पुरस्कार’, ‘दलसुर स्मृति कथा पुरस्कार’ र ‘दीयो नवप्रतिभा पुरस्कार’को निर्णय गरेको हो ।
‘सीमावारि सीमापारि पुरस्कार’ यस वर्ष ‘रोल्पा सुइना’ कथाका लागि कथाकार नवीन विभासलाई दिने निर्णय गरेको छ । जिल्लाभित्रका स्रष्टाहरुले प्रकाशन गरेका कृतिहरुमध्ये उत्कृष्ट कृतिलाई यो पुस्कार प्रदान गरिन्छ । डी.बी. टुहुरोको संयोजकत्वमा गठित छनौट समितिले गरेको सिफारिसका आधारमा पुरस्कार दिने निर्णय गरिएको परिषद्का अध्यक्ष लोक आलोकले जनकारी दिनुभयो ।
त्यस्तै ‘दलसुर स्मृति कथा पुरस्कार’ यस वर्ष कथाकार दिल महरालाई प्रदान गरिने भएको छ । स्रष्टा क्षितिज मगरले आफ्नो बुवाको सम्झनामा स्थापना गर्नुभएको उक्त पुरस्कार हरेक वर्ष रोल्पा जिल्लामा रहेर कथामा कलम चलाउने एक जना स्रष्टालाई प्रदान गरिन्छ । लोक आलोकको संयोजकत्वमा गठित छनौट समितिले सिफारिस गरेको आधारमा यसपटक महरालाई प्रदान गर्ने निर्णय भएको परिषद्ले जनायो ।
यस्तै यस वर्षको ‘दीयो नवप्रतिभा पुरस्कार’ भने गजलकार लालसिङ भावुक मगरलाई प्रदान गरिने भएको छ । भावुकलाई ‘मनको तरङ्ग’ गजलसङ्ग्रहका लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । रोल्पा जिल्लाका स्रष्टाहरुले वर्षभरिमा प्रकाशन गरेकोमध्ये कान्छो कृतिकारलाई उक्त पुरस्कार प्रदान गरिन्छ । नवीन लोचन मगरको संयोजकत्वमा गठित छनौट समितिले छनौट गरेको थियो ।
‘दलसुर स्मृति कथा पुरस्कार’ र ‘दीयो नवप्रतिभा पुरस्कार’को परिषद्को ३ गते हुने १७ औं साधारणसभाको अवसरमा प्रदान गरिने निर्णय गरेको छ भने ‘सीमावारि सीमापारि पुरस्कार’ अनुकुल समय पारेर छिटै प्रदान परिषद्ले जनाएको छ ।






