Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

गोरु काट्नेलाई १ वर्ष ९ महिनाको कैद सजाय

सुर्खेत ।
दैलेखमा बारीमा बाँधिएका गोरुलाई धारिलो हतियार प्रयोग गरि काट्नेहरुलाई दैलेख जिल्ला अदालतले १ वर्ष ९ महिनाको कैद सजाय र ४० हजार क्षतिपूर्तिको सजायको फैसला गरेको छ । अदातलका न्यायाधीस दण्डपाणी लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका–२ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतीपूर्तीको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

मुलुकी अपराध संहिताको २८९ को उपदफा १, २ र ३ अनुसार आइतबार अदालतले कैद फैसला गरेको कार्कीले बताउनु भयो । उहाँका अनुसार विष्टबाट ४० हजार क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको हो ।

गत भदौ २६ गते विष्टले भैरवी गाउँपालिका–२ रावतकोटका सोविन थापाका बारीमा बाँधेका गोरु काटेका थिए । एक गोरु काटिएको दिनमै मरेको थियो भने अर्को घाइते अवस्थामा छ । प्रहरीले गोरु काटेको १२ घण्टामै विष्टलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

मेरो बारीमा बाँधेर राखिएका गोर काट्नेले सजाय पाएपछि केही सन्तुष्टि मिलेको थापाले बताउनु भयो । अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया थापाले दिएका छन् । ‘खेती लाउने सिजनमा दुवै गोरु काटिएपछि अन्यायमा थिएँ अदालतले न्याय दिएको छ,’ थापाले भन्नुभयो, ‘गोरु काट्नेबाटै अदालतले क्षतिपूर्ति वापतको रकम भराएपछि थप राहत पुगेको छ ।’