म मदन भण्डारी स्पोस्र्ट एकेडेमीमा छैनः रामबहादुर
सुर्खेत ।
यही मंसिर ६ गते गठन भएको मदन भण्डारी स्पोस्र्ट एकेडेमी कर्णाली प्रदेश कमिटीका सदस्य राखिएका रामबहादुर राना भुषालले आफू उक्त कमिटीमा नभएको बताउनु भएको छ । लेकबेसी नगरपालिका ३ का राना भुषालले एक प्रेस विज्ञप्ति प्रकाशित गरि उक्त कुरा बताउनु भएको हो । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेपाली जनताको हक, हित र अधिकार प्राप्तिका लागि लामो समयदेखि विभिन्न चुनौतिको सामना गर्दै आएको पार्टी भएको बताउँदै भुषालले नेकपाका सबै कार्यकर्ता नेपाली जनता र देशको रक्षाको निम्ति सक्रिय रुपमा लाग्नु पर्ने बताउनु भएको छ ।

यही मंसिर ६ गतेका दिन गठन भएको कर्णाली प्रदेश एकेडेमी एउटा गुटको निर्माण गर्ने उद्देश्यले गरिएको उहाँले विज्ञप्ति मार्फत बताउनु भएको हो । उहाँले भन्नुभएको छ, ‘यस्ता गुट उपगुट निर्माण गर्ने कार्यमा नलागेर सधैं पार्टी एकता र प्रतिष्ठाको रक्षाका निम्ति लड्ने एक इमान्दार कार्यकर्ता हुँ । उक्त एकेडेमीमा मलाई नसोधिकन र मेरो उपस्थिति विना नै नाम राख्ने गरेको कार्य प्रति घोर आपत्ति प्रकट गर्दै उक्त एकेडेमीमा आफू नरहेको सबैलाई जानकारी गराउँन चाहन्छु ।
यही मंसिर ६ गते तेजविक्रम बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय मदन भण्डारी स्पोस्र्ट एकेडेमी कर्णाली प्रदेश कमिटीको गठन भएको थियो ।






