Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

प्रदर्शन गर्न कांग्रेस नेताहरू जिल्ला खटिए

काठमाडौं । 

प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारका बेथिति र तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरिएको गिरफ्तारीको विरोधमा सोमबार हुने देशव्यापी प्रदर्शनलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू जिल्ला खटाएको छ  । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई केन्द्रबाटै खटाइएको हो भने केन्द्रीय सदस्यहरू जिल्ला सभापतिको आमन्त्रणमा जाने भएका हुन्  ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार सभापति शेरबहादुर देउवा मकवानपुर र वरिष्ठ नेता पौडेलले काठमाडौंमा सम्बोधन गर्नेछन्  । उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री प्रकाशशरण महत झापामा खटिएका छन्  ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह धनुषा र कृष्णप्रसाद सिटौला महोत्तरी, पूर्वसहमहामन्त्री रामशरण महत चितवन र अर्जुननरसिंह केसी कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र सहमहामन्त्री सुनीलबहादुर थापा धनकुटा जाँदै छन्  ।

महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयबाट देशभरका कार्यक्रमको समन्वय गर्नेछन्  । तनहुँको दमौली नजिकै पुल उद्घाटन गर्न जाने क्रममा मंसिर १७ गते वरिष्ठ नेता पौडेलमाथि स्थानीय प्रशासनले दुर्व्यवहार गरेको थियो  ।

सर्वसत्तावाद, कुशासन, बेथिति, भ्रष्टाचार, दमन, कोभिड–१९ को अव्यवस्था र अन्यायविरुद्ध पनि प्रदर्शन गर्ने भन्दै कांग्रेसले केन्द्रबाट नारासमेत जिल्लालाई पठाएको छ  । पार्टी संगठन विभागको शुक्रबार बसेको बैठकले देशव्यापी प्रदर्शनलाई सशक्त र प्रभावकारी बनाउन अपिल गरेको छ  ।