ठगी आरोपी युवतीलाई मुद्दा चलाउन काठमाडौंबाट दैलेख ल्याइयो
सुर्खेत ।
ठगी गरेको आरोपमा पक्राउ परेकी विद्या सरकार शर्मालाई काठमाडौंबाट दैलेख ल्याइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ईटहरी उपमहानगरपालिका–४ घर भएकी २४ वर्षीया विद्यालाई पुस ६ मा काठमाडौंमा पक्राउ गरेको थियो ।

काठमाडौंमा उजुरी नआएपछि उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले बताए ।
त्यसबेला उनले आफुलाई अमेरिकाको भिसा लागेको हुनाले आठ–दश जनालाई अमेरिका लैजान सक्ने भन्दै स्थानीयलाई ठगेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार नारायण नगरपालिका–१ नयाँ बजारका मनोज थापाको ९० हजार र विवेक थापाको ५२ लाख १४ हजार ठगी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
पुस ९ मा दैलेख प्रहरीमा उनीविरुद्ध ठगीको जाहेरी परेको थियो । विद्यालाई पक्राउ गर्न जिल्ला अदालत दैलेखले अनुमति दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंसँगको समन्वयमा उनलाई पक्राउ गरेर दैलेख ल्याइएको डिएसपी श्रेष्ठले बताए ।
अदालतबाट ७ दिनको म्याद लिएर विस्तृत अनुसन्धान शुरु गरिएको डिएसपी अनुपम श्रेष्ठले बताए । ०७७ असारपछि दैलेखका विभिन्न स्थानीय तहमा राहत वितरण गर्दै आएकी उनले सुरुमै जिल्ला प्रशासन कार्यालय दैलेखबाट कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री वितरण गरेकी थिइन् ।
यस्तै, उनले दैलेखका स्थानीय तहहरुसँग सहकार्य गरेर राहत रकम वितरण गरेको बताइएको छ ।






