Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

साहित्यमा समकालिनता जरुरी छ : आख्यानकार पाण्डे

सुर्खेत ।
आख्यानकार नयनराज पाण्डेले साहित्यमा समकालिनता जरुरी भएको बताउनु भएको छ । कर्णाली साहित्य समाजले पाण्डेसँग गरेको आख्यानकार नयनराज पाण्डेसँग साहित्यिक विमर्श भर्चुअल कार्यक्रममा पाण्डेले यस्तो बताउनु भएको हो ।


करिब १६÷१७ वर्षको उमेरदेखि साहित्य लेखनमा लाग्नु भएका आख्यानकार पाण्डेले साहित्य लेखनका समसामयिक विषयमा बोल्नु भएको थियो । पात्रहरुको छनोट गर्दाको कुरा होस् या विषयवस्तुको छनोटमा ध्यान दिँदाको अवस्था होस् । साहित्यमा गाम्भीर्यता हुनु पर्ने पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थानीय कुराको जगमा रहेर लेखिएको साहित्यले नै पाठकको मनलाई छुन सक्छ । साहित्य यस्तो लेखिनु पर्छ कि जसले पढ्दा पनि आफ्नै कथा अथवा चित्र र चरित्रको चित्रण हुन सकोस् ।’

कल्पनाशीलतामा डुब्नुछ भनेर विषयवस्तुको अध्ययन नै नभएको साहित्य फिलतो हुने बताउँदै साहित्य भनेको अर्ति उपदेश दिने नीति शास्त्र नभएको तर दीर्घकालिन रुपमा चेतनाको परिवर्तनको संवाहक भएको उहाँको भनाई थियो ।

कसलाई कुन विधा लेख्न मन पर्छ वा सक्छ त्यो आ–आफ्नो रोजाईको विषय भएको बताउँदै आख्यानकार पाण्डेले भन्नुभयो, सबै भन्दा महत्वपूर्ण भनेको विषयचयन हो । विषयचयनले नै साहित्यकारको सोचलाई स्पष्ट पार्दछ ।’

भर्चुअल कार्यक्रममा बोल्दै वरिष्ठ कथाकार महेशविक्रम शाहले भन्नुभयो, ‘समय र परिस्थितिका साथै सामाजिकतालाई बुझेर लेख्न सकेको खण्डमा साहित्यले फड्को मार्न सक्दछ ।’ साहित्यमा सूक्ष्म प्रस्तुती गर्न सक्नु पर्ने बताउँदै कर्णाली साहित्य समाजले भर्चुअल मार्फत भएपनि कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा भरत सुवेदी, देवकी तिमिल्सेना, सीता यरी, रमा केसी, बिमला कठायत, भावना रोकाया, उगुना शाही, बलिराज रोकाया, हस्तराज रेग्मी, डिला शाह, रमा केसी, हिक्मत शाही, अमृता भट्टराई, निशा रुचाल, बिमला अधिकारी, हेमराज रोकाया, कौशीला अधिकारी, लक्ष्मीप्रसाद लम्साल, धन बहादुर मिदुन मगरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष खगेन्द्र अधिकारीले सहजीकरण गर्नुभएको थियो ।