निषेधाज्ञाको पहिलो दिन सम्झाइ बुझाई गर्दै छोड्दै
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई प्रहरीले सम्झाइ बुझाइ गर्दै छोड्दै गरेको छ । कोरोनाको संक्रमण दरमा तिब्रता आएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको पहिलो दिन अवज्ञा गर्नेहरुलाई प्रहरीले सम्झाइ बुझाई गर्दै छोड्ने गरेको छ ।
वीरेन्द्रनगर बजार क्षेत्रमा समेत निषेधाज्ञाको अवज्ञा गर्नेहरुको संख्या ठूलै रहेको छ भने ग्रामीण क्षेत्रमा निषेधाज्ञा गरेको जस्तै भान नै छैन । आफ्नो र आफ्नाहरुको स्वास्थ्य सुरक्षाको लागि प्रशासनले निषेधाज्ञा जारी गरेको भएपनि त्यसको पालना नगर्दा कोरोनाको संक्रमण झनै फैलिन सक्ने डर व्याप्त छ ।
अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गर्ने भन्दै प्रशासनले सूचना प्रकाशन गरेको छ । प्रहरीले समेत व्यापक प्रचार प्रसार गरेको भएपनि सुर्खेतीहरुले त्यसको पालना गरेका छैनन् । निषेधाज्ञाको अवज्ञा गर्नेलाई ५ सय रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद गर्न सक्ने सूचनामा उल्लेखित भएपनि यो वा त्यो बहानामा सर्वसाधारणहरु निषेधाज्ञाको अवज्ञा गरिरहेका छन् ।
पहिलो दिन भएकोले सम्झाइ बुझाई गरिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहर पालनाका लागि अनुरोध गरिएको छ । भोलीदेखि पनि यस्तै अटेरी गरेमा कानून बमोजिम कारवाही गरिने प्रहरीको भनाई छ ।
पछिल्लो २४ घण्टामा १८८ जनाको परीक्षण गर्दा १३७ जना संक्रमित भेटिएका छन् । अहिले कर्णाली प्रदेशमा ७ सय भन्दा बढी सक्रिय बिरामीको संख्या छ ।






