Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

क्रियाशील सदस्यता विवाद नसुल्झिँदा कांग्रेसकोे वडा अधिवेशन स्थगित, महाधिवेशन कार्यतालिका प्रभावित

काठमाडौं ।

क्रियाशील सदस्यता विवाद नसुल्झिँदा नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्व–पदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो । ‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, ‘अब कहिले गर्ने भन्नेमा पछि निर्णय हुन्छ ।’

प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भए पनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताउनुभयो । ‘वडा अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन,’ उहाँले भन्नुभयो, ‘अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत् नै छ ।’

वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६-१९ भदौमा हुने कार्यतालिका थियो ।

क्रियाशील सदस्यताको काम कार्यतालिकाअनुसार नहुँदा महाधिवेशन प्रभावित भएको हो । शनिबार सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अहिलेसम्म समितिले गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो ।

समितिले १२ साउनमा सदस्यताको अन्तिम सूची सभापति देउवालाई बुझाउने भएको छ । सभापति देउवाले हस्ताक्षर गरेपछि क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछन् । त्यसपछि निर्वाचन समितिले देशभरका सबै वडामा निर्वाचन अधिकृत खटाउनेछ ।

कांग्रेस महाधिवेशनमा क्रियाशील सदस्य प्रारम्भिक मतदाता हुन् । क्रियाशील सदस्यले नै वडा समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छन् । क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसको विधानको व्यवस्था छ । कांग्रेसमा १४ औं महाधिवेशनमा आठ लाख ५० हजार बढी क्रियाशील सदस्य रहेका छन् ।

बैठकमा सभापति देउवाले पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनशनको सम्बोधन गर्न निर्देशन दिनुभएको छ । उहाँले शनिबार साँझसम्म धर्नामा बसेका नेता कार्यकर्ताको विषयगत माग सम्बोधन गर्न निर्देशन दिनुभएको हो ।

देउवाले सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्व-सहमहामन्त्री डा. रामशरण महतलाई धर्नामा बसेकाहरूसँग वार्ता गर्ने जिम्मेवारी दिनुभएको छ ।

पदाधिकारीको बैठकको निर्णय केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने हुन्छ । कांग्रेस पदाधिकारी बैठकबाट केन्द्रीय समितिको पनि टुंगो लगाएको छैन । पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले पटक–पटक तोकिएकै समयमा जसरी पनि महाधिवेशन हुनैपर्ने र हुने ठोकुवा गर्दै आउनुभएको छ । तर, समय घर्किसकेपछि काम थाल्ने कांग्रेसको प्रवृत्तिले यो पटक पनि समयमा महाधिवेशन हुनेमा आशंका देखिन थालेको छ ।

२०७२ फागुन २४ गते चार वर्षका लागि सभापतिमा चुनिनुभएका देउवाको कार्यकाल २०७६ फागुन २४ गते नै सकिएको थियो । कांग्रेसको विधानको धारा ४३ अनुसार २०७७ फागुन २४ सम्म एक वर्ष थप गरेकोमा यो अवधिमा पनि कांग्रेसले महाधिवेशन गर्न सकेन । पुस ११, २०७६ मा पार्टीको विधानको असाधारण परिस्थितिको धारा ४३ प्रयोग गरी वर्ष दिन म्याद थपिएको थियो । त्यसपछि पनि म्याद सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको हो । ६ महिनाको म्याद पनि भदौमा सकिँदैछ । भदौ १६ मा कांग्रेसले महाधिवेशन गर्न नसके पार्टीको संवैधानिक अस्तित्व समाप्त हुने संविधानविद्हरूले बताउँदै आएका छन् ।