Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

संचारमैत्री कानुन ल्याउने प्रतिवद्धता

सुर्खेत ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले प्रदेश सरकारले संचारमैत्री कानुन ल्याइने बताएकी छन् । उनले विषय विज्ञ, संचारकर्मी तथा संचारसँग सम्वद्ध पक्षहरुसँग छलफल गरेर संचारमैत्री कानुन ल्याइने बताएकी हुन् । मानवअधिकार संचार प्रतिष्ठान, फ्रि मिडिया नेटवक सुर्खेत, पत्रकार महासंघ र इन्टेरनेशनल अलर्टको संयुक्त आयोजनामा आइतवार सुर्खेतमा भएको एक कार्यक्रममा मन्त्री नेपालीले संचारसँग सम्बन्धित कानुनहरु ल्याउँदा संचार मैत्री बनाइने प्रतिवद्धता जनाइन् । उनले अहिले प्रदेश सरकार संचारसँग सम्बन्धित ऐन कानुनहरु बनाउन लागेको जानकारी दिदैं पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा गर्न प्रतिवद्ध रहेको पनि उल्लेख गरिन् ।

प्रसारण ऐन संशोधनको तयारी भइरहेको, आमसंचार प्रतिष्ठान विधेयक संसदमा दर्ता भएको, लोक कल्याणकारी विज्ञापन नीतिको कार्यविधि बनाउने तयारीमा प्रदेश सरकार रहेको जानकारी उनले दिइन् । यसका साथै जनतालाई सत्य र तथ्यको आधारमा मात्रै समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरुलाई उनले सुझाव दिइन् । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि स्थानीय तथा प्रदेश सरकारलगायत सवै निकायले ध्यान दिनुपर्ने बताए । उनले संचारमैत्री कानुन ल्याउन प्रदेश सरकारलाई आग्रह गर्दै पत्रकारहरुको क्षमता अभिवृद्धि तथा गुणस्तर बृद्धिका लािग पहल भइरहेको जानकारी दिए । पत्रकारहरुमाथि आइपरेका समस्याहरुको पहिचान गरी समाधानको पहल गर्न सवैको सहयोगको आवश्यकता रहेको उनको भनाइ छ ।

कार्यक्रममा मानअधिकार संचार प्रतिष्ठानका निराजन नेपालीले पपत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षामा आइपर्ने सवालहरुलाई पहिचान गरेर अगाडि बढ्न सकिने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा अग्रज पत्रकारहरु श्रीधर पौड्याल, कमलेश डीसी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछाने, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, गैसस महासंघका अध्यक्ष घनश्याम केसी, नागरिक समाजका खिम रेग्मी, महिला संजालका हरिमाया शर्मालगायतले पत्रकारहरुको भौतिक तथा पेशागत मर्यादाका लागि सवैले आ—आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने सुझाव दिएका छन्

। कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले कोभिडले जिल्लाको पत्रकारिता तथा पत्रकारहरुलाई पारेका प्रभाव, समस्याका वारेमा जानकारी गराएका थिए ।