Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

गाई खरिदमा अनियमितता

दैलेख  |

भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालयले उन्नत जातका गाई किसानलाई वितरण गर्ने भन्दै भगवतीमाई गाउँपालिका–३ मेहेल्तोलीस्थित ग्रामीण कृषि बहुउद्देश्यीय सहकारी सस्थालाई ७० लाख रुपैयाँ अनुदान दियो । सहकारीले सेयर सदस्यलाई होलिस्टेन र जर्सी जातका गाई वितरण गर्ने भनिए पनि उनीहरूलाई स्थानीय जातका गाई वितरण गरेको किसानको गुनासो छ ।

अन्य रकम सहकारी संस्थाले व्यहोर्ने भनिए पनि ७५ किसानबाट १५ हजार रुपैयाँको दरले रकम उठाइएको छ । सहकारीले पशु सेवा कार्यालय ७० लाख, सहकारी सस्थाको ११ लाख ७५ हजार र गाउँपालिकाको ५ लाख रुपैयाँबाट गाई खरिद गरेको थियो । ३ नम्बर वडाका डिल्ली रेग्मीले आफ्न्तसँग ३० हजार ऋण लिएर सहकारीबाट अनुदानमा आएका गाई किनेको बताए । ‘दिनमा १० लिटर दूध दिन्छ भनिएको थियो, तर गाईले २ लिटर मात्र दूध दियो,’ उनले भने, ‘अब कसरी आफन्तलाई पैसा फिर्ता गर्ने भन्ने चिन्ता भएको छ ।’ उनले २/४ वटा उन्नत जातका गाई मिसाएर सहकारीले स्थानीय जातका गाई वितरण गरेको आरोप लगाए ।

अर्का किसान जयप्रकाश रेग्मीले अनुदानमा वितरण गरेका गाई स्थानीय जातका भएको बताए । ‘उन्नत जातका गाई भनियो,’ उनले भने, ‘मैले लिएको गाई त झन् बिरामीजस्तो छ ।’ उनले अनुदानको रकममा सहकारीका पदाधिकारीले अनियमितता गरेको बताए । उनका अनुसार दोस्रो चरणमा रातिको ९ बजे किसानलाई गाई वितरण गरिएको थियो । सोझा किसानबाट अनुदानको आस देखाएर उल्टो रकम झ्वाम पारिएको उनको गुनासो छ । अनुदानमा किसानले पाएकामध्ये ३ वटा गाई मरेको उनले बताए ।

खरिद समितिका सदस्य राजु विकले आफ्नो नाम सदस्यमा राखिए पनि आफूहरूसँग कुनै सल्लाह नगरिएको बताए । ‘सहकारीका अरू पदाधिकारीले बदमासी गरे,’ उनले भने, ‘किसानले हामीलाई गाली गर्न थालेका छन् ।’ उनले उन्नत जातको गाई पाल्न दैलेख उपयुक्त छ कि छैन भनेर सम्भाव्यता अध्ययन नगरी पशु सेवा कार्यालयले सहकारीलाई अनुदान दिएको बताए ।

स्रोतः इकान्तिपुर