साहित्यिक विमर्श सम्पन्न
बेलबारी ।
अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह तथा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको उपस्थितिमा आज बेलबारीको ड्रीमल्याण्ड होटल एण्ड फन पार्कमा गम्भीर साहित्यिक विमर्श सम्पन्न भएको छ ।
वरिष्ठ विद्धान, लेखक, समालोचक, राजनीतिज्ञ, समाजसेवी तथा पूर्व सांसद श्री हर्कमान तामाङ, श्रष्टा समाजका अध्यक्ष, लेखक, कवि समाजसेवी, राजनीतिज्ञ, साहित्यमा नयाँ नयाँ प्रयोग गरिरहने बहुआयामिक व्यक्तित्व श्री ईरान राई सेवक, चर्चित कवि, गजलकार, कलाकार बहुमुखी प्रतिभाका धनी श्री जेबी थुलुङ, बेलबारी साहित्य बिकास समितिकी अध्यक्ष श्री तिला लेकाली, नेपाली साहित्यकी सुपरिचित साहित्यकार श्री रेखा सुवेदी, बेलबारी साहित्य बिकास समितिका सचिव साहित्यकार श्री धनजीत पराजुली, नेपाली भाषा साहित्यकी साधक, नारीवादी चिन्तक लेखिका श्री सोनाली गुरुङ आदिको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल बाहिरबाट भइरहेका साहित्यिक गतिविधिलाई हेर्ने दृष्टिकोण र सुरेन्द्र लिम्बू परदेशीको नव-आयाम, देश सुब्बाको भयवाद, डा मधु माधुर्यको क्वान्टम साहित्य, डेन्जोम साम्पाङको स्वीकारोक्ति, च्याबन श्रीको तर्क दर्शन, डम्बर पहाडीको एलाक, राजन मुकारुङहरुको सिर्जनशील अराजक, धर्मेन्द्रबिक्रम नेम्बाङहरूको रङ्गबाद, राज माङ्लाकहरूको उत्तरवर्ती सोचजस्ता नयाँ विचारहरुलाई हेर्ने दृष्टिकोण कस्तो रहेको छ ? भन्ने सवालमा गहन वहस भएको थियो । उपरोक्त सवालमा सबैले आआफ्नो महत्वपूर्ण विचार राख्नु भएको थियो ।
विचार प्रस्तुतिको अन्तरालमा श्री ईरान राई सेवकले नेपाल बाहिरबाट भइरहेका नेपाली साहित्यिक गतिविधिहरूलाई अत्यन्तै सकारात्मक रुपमा हेरिरहेका छौँ । नेपाली साहित्यलाई माथि पुर्याउनमा यस्ता गतिविधिहरूको पनि महत्वपूर्ण भूमिका रहेको छ भन्नु भएको थियो । त्यसैगरि नयाँ विचारहरू आउनु पनि राम्रो कुरा भएको विचार राख्दै अहिले पुरानो युग सकिएर नयाँ युग आएको हुनाले नयाँ विचारहरू पनि आउनु जरुरी छ भन्दै १० टाउको भएको रावण युग सकिएर १२ टाउको भएको नव नायकको युगको परिकल्पना गरिरहेको कुरा वहाँले राख्नु भयो । त्यसैगरि श्री तिला लेकालीले पनि नेपाली साहित्यमा आइरहेका विभिन्न नयाँ विचार र विधाहरू राम्रो कुरा भएको तर अस्वस्थ प्रतिस्पर्धा होला कि भन्ने अलिकति चुनौती पनि रहेको हुन्छ भन्ने धारणा राख्नु भएको थियो । साइबर युगको फाइदा उठाउँदै विश्वको विभिन्न मुलुकमा रहेर पनि एकैसाथ काम गर्न सकिने समयको फाइदा उठाएर साहित्यिक सहकार्य गर्नु पर्छ ।
आदर्शवाद र भौतिकवादी चिन्तनको संयोजन गर्दै अगाडि बढ्न सक्नु पर्छ भन्दै वहाँले आफ्नो कुरा सक्नु भएको थियो । त्यसरी नै श्री धनजीत पराजुलीले पनि हुनसक्छ मोतीराम भट्टको पालादेखि नै नेपाली साहित्यमा नयाँ प्रयोग हुन थालेको होला । वहाँले गजललाई उर्दूदेखि नेपाली साहित्यमा ल्याउनु भयो भन्दै नयाँ विचार र नेपाल बाहिरबाट भइरहेका नेपाली साहित्यिक गतिविधिहरूलाई वहाँले मुक्त कण्ठले प्रशंसा गर्नु भयो । त्यसपछि नेपाली साहित्यमा स्नातकोत्तर सकेर भर्खरै साहित्यिक यात्रा तय गरिरहेकी श्री सोनाली गुरुङले नयाँ आउने विचारहरूले नयाँ पुस्ता जो चिन्तनशील पनि कम छन् । अध्ययनशीलता पनि कम छ । भविष्यमा पुस्तकहरू पुस्तकालयमा थन्किएर बस्ने सम्भावना मात्रै बढी छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै नव-आयाम वैचारिक अभियान जस्ता विचारहरूले आफ्ना भावी पुस्तालाई कसरी चिन्तनशील र अध्ययनशील बनाउन सकिन्छ भन्ने विषयमा पनि गम्भीर ध्यान दिएर अगाडि बढ्नु होला भन्ने सुझाव दिनु भएको थियो । त्यसैगरि श्री रेखा सुवेदीज्यूले पनि नेपाली साहित्यमा नयाँ विचारहरू आउनु राम्रो कुरा हो र यस्तो विचारहरू आउने क्रम नौलो पनि होइन तर कुन विचार कति दिर्घजिवी हुन्छ भन्ने कुरा चाँही समयले निर्धारण गर्दै जाने कुरा हो भन्नु भयो ।
देश बाहिरबाट भइरहेका साहित्यिक गतिविधिलाई सकारात्मक रुपमा लिँदै वहाँले सबै प्रकारका साहित्यिक गतिविधिहरूमा आफुले खेल्नु पर्ने भूमिकाकालागि आफु सदैव तत्पर रहेको कुरा पनि अवगत गराउनु भयो । त्यसपछि श्री जेबी थुलुङले भने केही पृथक विचार राख्नु भएको थियो । नेपाली साहित्यमा नयाँ विचार ल्याउने साथीहरूसँग लामो समयसम्म संगत गरे तापनि आफुले ती विचारहरूलाई नबुझेको, र ती विचारहरूमा आफुले त्यस्तो पृथक कुराहरू केही पनि नभेटेको दुखेसो राख्नु भयो । वहाँले भन्नु भयो ‘म बढी चिज बुझ्छु तर विचार बुझ्दिन ।’ नेपाल बाहिरबाट भइरहेका साहित्यिक गतिविधिको बारेमा भने वहाँले खुलेर प्रशंसा गर्नु भयो । वहाँले बेलबारीमा नेपाल बाहिरका नेपाली साहित्यकारहरूलाई ल्याएर एउटा भव्य कार्यक्रम गर्ने इच्छा रहेको र सम्भावना रहेमा मिलेर त्यस्तो कार्यक्रमको आयोजना गरौँ भन्ने प्रस्ताव पनि गर्नु भयो । विचार राख्ने क्रमको अन्तमा श्री हर्कमान तामाङले नव-आयामभित्र सबैजसो प्रमुख वैज्ञानिक दार्शनिकहरूको चर्चा छ । धेरै गहिरो अध्ययन चिन्तन गरेर गम्भीर कुराहरू प्रस्तुत गरिएको र यसको अध्ययन गरिरहँदा एकदमै बढी इन्द्रबहादुर राईको सम्झना आएको कुरा अवगत गराउनु भयो ।
बैरागी काइँला सेन्ट जोसेफ कलेज दार्जिलिङमा पढ्दा बिरामी भएर देशबंधु चेष्ट क्लीनिकमा उपचार गरिरहेको बेला इश्वर बल्लभ र इन्द्रबहादुर राई गफ गर्न जानु हुन्थेछ । एकदिन म पनि वहाँहरूको गफ सुन्न पुगेको र गफले एकदमै प्रभावित भएको भन्दै विगतको स्मरण पनि साझा गर्नु भयो । सुरेन्द्र लिम्बू परदेशीद्वारा राखिएको प्रश्न ‘नेपाल बाहिरबाट भइरहेका नेपाली साहित्यिक गतिविधि र नयाँ विचारहरूको आगमनलाई हेर्ने दृष्टिकोणको’ सम्बन्धमा भने वहाँले अत्यन्तै सकारात्मक रुपमा लिँदै अनेकौँ शुभकामना व्यक्त गर्नु भयो ।
छलफलमा विश्व नेपाली साहित्य महासङ्घको प्रकाशन साहित्य संसार, विनेसाम दर्पण, नेपाली कविता कुञ्ज त्यसैगरि अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको प्रकाशन परदेशी बिम्बहरू र सुरेन्द्र लिम्बू परदेशीको नव-आयाम वैचारिक अभियान नामक पुस्तकहरू वितरण गरिएको थियो ।
अन्तमा, अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह तथा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले उपस्थित भइदिनु हुने सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै सबैद्वारा राखिएको विचारलाई गम्भीरतापूर्वक लिएर र भविष्यमा ती विचारहरूलाई आत्मसात गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । त्यसपछि विमर्शलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने ईरान राई सेवक र तिला लेकालीलाई विशेष धन्यवाद दिँदै कार्यक्रमको बिट मार्नु भएको थियो ।







