व्यवस्थापकीय सुधारः चुनौती र अवसर विषयमा छलफल
सुर्खेत ।
सुर्खेत बहुमुखी क्याम्पसले उच्च शिक्षा प्रदायक संस्थाको व्यवस्थापकीय सुधारः चुनौती र अवसर विषय छलफल कार्यक्रम गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माको प्रमुख आथित्यतामा उक्त छलफल कार्यक्रमको आयोजना गरिएको थियो । सुर्खेत बहुमुखी क्याम्पस र आन्तरिक गुणस्तर सुनिश्चितता समितिको संयुक्त आयोजनामा छलफल कार्यक्रमको अयोजना गरिएको थियो ।

छलफल कार्यक्रममा बोल्दै डीन प्रा.डा. शर्माले विश्वविद्यालय र क्यामपसले भोग्नु परेका समस्याका बारेमा बोल्नु भएको थियो । उहाँले भन्नुभयो, ‘सरकारले तलब खाने भन्दा बरु पैसा दिँदैन । १७ हजार शिक्षक तथा कर्मचारीको दरबन्दी भएको उक्त विश्वविद्यालयका प्राध्यापकहरुले काठमाडौं मात्र बस्न खोज्छन् । काठमाडौं बसेर विश्वविद्यालय अन्तर्गतका कयाम्पसहरुको स्तर उन्नती गर्न कठीन छ ।’ विश्वविद्यालयमा हुने राजनीतिक कारणले विज्ञापनहरु रोकिनेदेखि व्यवस्थापनमा समेत कठीनाई आउने गर्दछन् । तर ती कठीनाईलाई चिर्न आवश्यक भएको बताउँदै शर्माले भन्नुभयो, ‘विश्वविद्यालयका कार्यक्रमहरुलाई व्यवस्थापन गर्न क्याम्पसहरु आफैपनि अगाडि बढ्न जरुरी छ ।’ सरकारलाई लक्षित गर्दै विश्वविद्यालयका कार्यक्रम स्वीकृति गर्ने तर अर्थ मन्त्रालयबाट दरबन्दी नदिने भन्दै सरकारलाई निकम्बाको संज्ञा नै दिनुभयो । राजनीतिक दबाबलाई खबरदारी गर्दै मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादन तर्फ विश्वविद्यालयहरु लाग्नु पर्ने उहाँले बताउनु भयो ।
यसैगरी कार्यक्रममा प्रा.डा. महानन्द चालिसेले देशमा ८० प्रतिशत शिक्षाको भार त्रिभुवन विश्वविद्यालयले लिएको बताउँदै कर्णाली प्रदेशकै गौरव हुने गरी सुर्खेत बहुमुखी क्याम्पसलाई विकास गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘विश्वविद्यालयमा पहिले प्राध्यापकहरु सुध्रिनुपर्छ । अनि विद्यार्थीहरु कसरी ज्ञान आर्जन गर्न सकिन्छ भन्ने तर्फ लागिहाल्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै उपप्राध्यापक डा. दीपक गौतमले भन्नुभयो, ‘स्वच्छ छवि भएका व्यक्तिहरु मध्येबाट नेतृत्व हुने गरी संचालक समितिको निर्माण गर्नुपर्ने, समयलाई महत्वका साथ लिनु पर्ने र क्याम्पसलाई शैक्षिक क्षेत्रको आँखाको नानीको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।
छलफल कार्यक्रमका अध्यक्ष एवम् क्याम्पस प्रमुख माधव खनालले आफूहरु इमान्दारितको सपना लिएर अगाडि बढिरहेकाले लक्ष्यमा पुग्न सफलता मिल्ने आशा व्यक्र गर्नुभयो । उहाँले भन्नुभयो, ‘चुनौती र अवसर दुबै भएपनि भौतिक पूर्वाधार तयार गरेर अगाडि बढ्छौ । सबैको साथ सहयोगको आवश्यकता छ ।’
छलफलमा पूर्व क्याम्पस प्रमुखहरु डा. महेन्द्रकुमार मल्ल, टंकप्रसाद आचार्यलगायत जनकबहादुर रावल, शरद पौड्याल, किरण भट्टराई, प्रेमबहादुर थापा, दीपेन्द्रकुमार खत्री, थानेश्वर लामीछाने, मदनकुमार जोशी क्याम्पसका कर्मचारी एवम् विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रम राजन कंडेलले संचालन गर्नुभएको थियो ।






