भ्रष्टाचार विरुद्ध निसानाः दुईदिने कार्टुन प्रदर्शनी समापन
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भ्रष्टाचारविरुद्ध गरिएको कार्टुन प्रदर्शनको समापन भएको छ । वीरेन्द्रनगरमा बुधबार र विहीबार गरी दुई दिन संचालन भएको कार्टुन प्रदर्शनीको प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरेका थिए भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत अवलोकन गरेका थिए । दुई दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा भ्रष्टाचार, अनियमितता र बेतिथिविरुद्धका कार्टुनहरु राखिएका थिए ।

‘भ्रष्टाचारविरुद्ध निसाना’ नाम दिइएको प्रदर्शनीमा विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुन राखिएका थिए । कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा भएको प्रदर्शनीको उद्घाटन गर्दै कर्णालीका प्रदेश प्रमुख तिलक परियारले भ्रष्टाचारविरुद्ध सामूहिक अभियान आवश्यक रहेको बताए । उनले भने, ‘हाम्रो समाज भ्रष्टाचारले जेलिएको छ, भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरुको भूमिका कमजोर भयो । नियमनकारी निकायहरु गम्भीर नहुने हो भने, देश नै आर्थिक संकटमा फस्न सक्छ ।’ प्रदर्शनीमा राखिएको कार्टुनको अवलोकन गर्दै प्रदेश प्रमुख परियारले समाज रुपान्तरण र पारदर्शिता कायम गर्न मिडियाको महत्वपूर्ण भूमिका हुने बताए । कार्टुनले बेतिथिविरुद्ध खबरदारी गर्ने भन्दै उनले यो अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।

धेरै धन कमाउने लोभ र संस्कृति हाबी भयो, धन कमाउने नाममा व्यक्तिहरु भ्रष्टाचार गर्न थाले । भ्रष्टाचार नियन्त्रण नहुँदा व्यक्ति मोटाउने र देश दुब्लाउने अवस्था आएको कार्टुन अवलोकनकर्ताहरुको भनाई छ । सामाजिक चेतना जगाउन र भ्रष्टाचारविरुद्ध निसाना केन्द्रित गर्न कार्टुन प्रदर्शनीले सहयोग पुग्ने अवलोकनकर्ताहरु बताउँछन् ।
त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले अबको निसाना भ्रष्टाचारीविरुद्ध हुनुपर्ने बताए । समाजमा क्यान्सर सरह भ्रष्टाचार मौलाएको भन्दै उनले शिक्षामा हुने अनियमिततालाई मात्र रोक्न सके भ्रष्टाचारमा कमी आउने दाबी गरे ।

साहित्यकार देवकी तिमिल्सेनाले समाजलाई सही मार्गमा लैजान सचेतना आवश्यक रहेको बताइन् । समाजलाई सचेत बनाउन सकेमा मात्र पारदर्शिता कायम गर्न सकिने उनको भनाइ छ । देशका सातवटै प्रदेशमा प्रदर्शनी आयोजना गरिएको कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले जानकारी बताए । देशमा भ्रष्टाचार बढेको छ, राज्यका निकायहरु नै नीतिगत भ्रष्टाचारको जालोमा छन् । यसलाई निर्मूल गर्न सामूहिक प्रयास आवश्यक छ । यसैका लागि हामीले नागरिकलाई जागरुक बनाउन यो प्रदर्शनी आयोजना गरेका हौं अध्यक्ष वासुले बताए ।

भ्रष्टाचार विरद्धको निसाना नामक कार्टुन प्रदर्शनीमा करिब ४ हजार जनाले अवलोकन गरेको देवेन्द्र थुम्केलीले बताए । प्रशर्दनी कार्यमा सहयोग पु¥याउने विभिन्न महानुभावहरुलाई समापन कार्यक्रममा प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो ।








