कर्णाली प्रदेश उद्योग परिसंघको अध्यक्षमा छत्र शाही
सुर्खेत ।
कर्णाली प्रदेश उद्योग परिसंघको अध्यक्ष छत्र बहादुर शाही निर्वाचित भएका छन् । संस्थाको प्रथम साधारण सभाबाट शाहीको नेतृत्वमा १६ सदस्यीय कार्य समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा अक्कल बहादुर शाही, कल्पना विष्ट, भानुभक्त खड्का र पुष्पा शाहीलाई चयन भएका छन् भने सदस्यमा अम्मर नेपाली, उगुना शाही, सरिता रावल, अर्जुन बहादुर चुनारा, रामबहादुर बुढा, हरिलाल जैसी, बिर्खबहादुर रोकाया, प्रयागराज आचार्य, धनबहादुर शाही र जयबहादुर बुढा चयन भएका छन् ।
यसैक्रममा संस्थाले कर्णाली प्रदेश कार्यालयको समेत उद्घाटन गरेको छ । संस्थाका केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले एक विशेष कार्यक्रमका बीच संस्थाको कार्यालयको उद्घाटन गरेका छन् ।

साधारण सभाको प्रमुख अतिथिको आशनबाट बोल्दै केन्द्रिय उपाध्यक्ष अधिकारीले भने, हामीले हाम्रै उत्पादनलाई प्राथामिकतामा नराखेसम्म आयातलाई घटाउन सक्दैनौ । जसका लागि सरकारले कानून निर्माण गरेर नेपालमा उत्पादित बस्तुहरुको सहज बजारीकरणका लागि पहल चाल्नु पर्छ । नेपाली उद्योग, कलकारखानालाई संचालन गर्नका लागि नेपाली बस्तुको खपतका लागि नेपालीहरुकै अपनत्व हुनुपर्ने बताउँदै उपाध्यक्ष अधिकारीले जुम्लाको मार्सी धानलाई ब्राण्डेड गर्न नसक्ने अनि विदेशी चामलको भात खाएर कर्णालीलाई समृद्धि बनाउँछौ भन्नु केवल गफ मात्र भएको बताए । उनले थपे, गफ गरेर देश बन्दैन देश बनाउनका लागि त उत्पादनमा जोड दिनु पर्छ भने निर्यातलाई बढावा दिनुपर्छ ।

प्रथम साधारण सभाबाट अध्यक्षमा निर्वाचित भइसकेपछि छत्रबहादुर शाहीले भने, कर्णालीको समृद्धि ल्याउनका लागि कर्णालीमा उत्पादन हुने वस्तुको बजारीकरणमा सिंगो टिम नै एकतावद्ध भएर लाग्ने विश्वास लिएको छ । साधारण सभाको सहजीकरण रतनबहादुर शाहीले गरेका थिए भने साधारण सभामा संस्थाका प्रदेश तथा जिल्ला समन्वय समितिका सभापति लक्ष्मीप्रसाद सुवेदी, वाग्मती प्रदेश अध्यक्ष भेषराज दुवाडीलगायतको उपस्थिति रहेको थियो ।






