तीन वर्षमा भेरीको पानी सुर्खेत : खडेरीमा २४ घण्टासम्म लोडसेडिङ्ग हुने
सुर्खेत ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटाले तीन वर्ष भित्रमा भेरीको पानी सुर्खेत ल्याई पु¥याउने बताउनु भएको छ । आज सुर्खेतको करेखोला स्थित खानेपानीको ट्याँकी रहेको क्षेत्रमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष देवकोटाले यस्तो बताउनु भएको हो । झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नाम परिवर्तन गरी सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था बनाएको समेत पत्रकार सम्मेलनमा बताइएको छ । साथै पत्रकारको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, ’अब आउने खडेरीको समयमा पनि हप्तामा २४ घण्टा भन्दा बढि पानीमा लोडसेडिङ्ग हुने छैन । यस भन्दा अगाडिका खडेरीहरुमा सुर्खेत उपत्यकावासीहरुले ९६ घण्टासम्म पानीको लोडसेडिङ्ग खेप्दै आएका छन् ।

२०५७ सालमा जम्मा १ हजार ४ सय ८ वटा धाराबाट शुरु गरेको खानेपानी वितरण अहिलेसम्म आइपुग्दा १५ हजार ३ सय ७६ धाराहरु वितरण भइसकेका छन् भने २ हजार १ सय १५ धाराहरु सबै प्रक्रिया पूरा भइसकेको भए पनि जडान गर्न बाँकी रहेको खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

झुप्राखोलाको महानबाट ८० लिटर प्रतिसेकेण्ड, इत्राम खोला मुहानबाट २५ लिटर प्रतिसेकेण्ड, खोर्केखोलाबाट १० लिटर प्रतिसेकेण्ड, खरिखोला बोरीखोला मुहानबाट २२ लिटर प्रतिसेकेण्ड बुलबुले काठकुबा मुहानबाट ४ लिटर प्रतिसेकेण्डका दरले जम्मा १ सय ४१ लिटर प्रतिसेकेण्ड पानी अहिले आपूर्ति भइरहेको जनाइएको छ । सेवा क्षेत्रमा अनुमानित गरिएको जनसंख्या १ लाख ५० रहेकोमा प्रतिव्यक्ति प्रतिदिन १ सय लिटर पानीको आवश्यकता पर्ने भएकोले दैनिक १ करोड ५० लाख पानीको आवश्यकता रहेकोले दैनिक ३३ लिटर प्रतिसेकेण्ड पानी अपुग भएको बताइएको छ ।
खरिखोला बोरीखोला खानेपानी योजनाको पुरै कार्य सम्पन्न हुन नसकेपनि ९० प्रतिशत कार्य सम्पन्न भइसकेको र पानी ट्याँकीमा झरिसकेको छ । खरिखोला र बोरीखोलाको पानी समेत संचालनमा आएपछि पानी विक्रीमा ११ प्रतिशतले बृद्धि भएको बताईएको छ ।
रत्न राजमार्ग अन्तर्गत निर्माणाधिन फोरलेन सडकका कारण खानेपानी सप्लाईमा समस्या उत्पन्न भएको तर अबका दिनदेखि पहिले नै पाइपलाइन विस्तार गरि विछ्याइने भएकोले उक्त समस्या नदोहोरिने अध्यक्ष देवकोटाले बताउनु भयो । भेरी पम्पिङ्ग आयोजना निर्माण भएपछि सुर्खेता उपत्यकाको खानेपानी समस्याकोे दीर्घकालिन समाधान हुने बताइएको छ । सुर्खेत उपत्यकाको १ सय वर्षपछि सम्मको खानेपानीको मागलाई पूरा गर्ने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष देवकोटाको भनाई छ । साथै अध्यक्ष देवकोटाले भन्नुभयो, खानेपानीमा आधुनिक प्रणालीको शुरुवात गर्ने तयारी भइरहेको छ ।
पानीमा भइरहेको चुहावटलाई रोक्नका लागि अभियान नै चलाइएको बताइएको छ । पानीको चोरी गर्नेहरुलाई कडा कारवाही गर्ने नीति नियम समेत बनाइएको बताइएको छ । कार्यक्रममा अध्यक्ष देवकोटाले भन्नुभयो, सन् २०२२ सम्ममा सुर्खेत उपत्यकामा २२ हजार धाराहरु वितरण हुनेछन् । सधैँका लागि पानी र सबैका लागि पानी भएकोले पानीको समस्या समाधान गरेरै छाड्ने क्वीक खबरसंग बताउनु भयो ।






