Loading... आजः १८ असार २०८३, बिहीबार । Thursday 2nd July 2026
ताजा खबर
  

मुगुमा सामुहिक हत्या आरोपित काका र देवर नाता पर्ने दुई जना पक्राउ

सुर्खेत ।

कात्तिक १० गते बिहान मुगुको छारायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको खबर बाहिरियो। कात्तिक ८ गते दसैँको रात उनीहरूको हत्या गरिए पनि दुई दिनपछि अर्थात् कात्तिक १० गते बिहान करिब ९ बजे मात्र उक्त घटनाको सूचना प्रहरीसम्म पुग्यो।

खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी टोली घटनास्थलतर्फ लाग्यो। प्रहरी घटनास्थलमा पुगेपछि घरमा नयाँ ताल्चा लगाएको अवस्थामा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ८ महिनाका छोरा रहर, ८ वर्षीया छोरी अप्सरा र ११ वर्षीय छोरा मनोजको शव फेला पार्‍यो। त्यसपछि प्रहरीले सिंगो गाउँलाई निगरानीमा राखेर अनुसन्धान थाल्यो। यसको दुई हप्तापछि प्रहरीले २ जना आफन्तलाई पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्न आशंकामा मुगुको छायानाथ रारा नगरपालिका–७ घर भई हाल बाँके कोहलपुरको चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ठकुरी र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपाल बोहरा पक्राउ गरिएको हो।

गोर्खराजलाई प्रहरीले गएको सोमबार बाँकेको कोहालपुरबाट प्रकाउ गरेको हो। उनलाई पक्राउ गरी मुगु ल्याएर थप अनुसन्धान गर्दा मुन्दु गाउँकै गोपाल बोहरा पनि पक्राउ परेको स्रोतले जानकारी दिएको छ। गोर्खराजबारे छानबिन गर्दा उनले घटनामा बोहोरा पनि संग्लन रहेको बताएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो। हत्या आरोपित गोर्खराज श्रीदेवीका काका र गोपाल देवर नाता पर्छन्।