Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

मुख्यमन्त्रीको पत्रकारलाई अनुरोध

 

सुर्खेत
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एक बर्ष मात्र आलोचनाभन्दा पनि सहयोग गरिदिन पत्रकारहरुलाई आग्रह गरेका छन् । विहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाट गर्दै मुख्यमन्त्री शाहीले कर्णाली सरकारको एक मात्र लक्ष्य यहाँको बिकास र समृद्धि भएको भन्दै उनले यो यात्रामा साथ दिन पत्रकारलाई आग्रह गरेका हुन् ।


प्रदेश सरकार चीनसंग सिमाना जोडिएका तीन वटा उत्तरी नाका तत्काल खोली कर्णाली प्रदेशको समृद्धिको यात्रा थालनी गर्ने बताए । आधा भन्दा बढी जनसंख्या गरिवीको रेखामुनी भएको कर्णाली प्रदेशमा विभिन्न खालका चुनौतीहरु रहेको उनको भनाई छ । ‘प्रदेशमा विभिन्न किसिमका घटना र दुर्घटनाहरु बढेका छन्’ उनले भने, ‘यसको निकारणका लागि पनि कर्णाली समृद्ध बन्न जरुरी छ ।’ यहाँका यूवाहरुलाई रोजगार सिर्जना गरी काममा लगाउन सके समृद्धिमा टेवा पुग्ने उनले बताए ।

कर्णाली प्रदेशका विभिन्न खालका अभावहरुको अन्त्य गरी, नागरिकहरुलाई सुशासन र सुरक्षाको प्रत्याभुति दिलाउन सके मात्र प्रदेशमा सिर्जनात्मक कार्यहरु थालनी हुन सक्ने उनको भनाई छ । पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले प्रदेशमा थुप्रै चुनौतीहरु भए पनि ती चुनौतीहरुको सामना गर्न सबैको एकता जरुरी भएको औल्याए । सरकारले थुप्रै कामहरु गर्नु पर्ने भए पनि व्यवस्थापकीय काममै अल्झनु परेको भन्दै उनले अब प्रदेशका कानूनहरु निर्माण पछि सरकारले गती लिने बताए ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभ्याउने भन्दै पत्रकार र पत्रकारिताको बिकासका लागि टेवा पुग्ने कार्यक्रम सरकारको प्राथमिकता हुने बताए । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पत्रकारहरुलाई सरकारलाई सुध्रीने गरी सुझाव दिन आग्रह गरे । उनले सरकार बजेट बनाउन लागि रहेको भन्दै बजेटमा पत्रकारिता क्षेत्रका समस्या र यसको निदानका लागि पहल गरिने बताए ।

जनताको आन्दोलनको बलबाट कर्णाली प्रदेश प्राप्त भएको स्मरण गर्दै मन्त्री ज्वालाले यो प्रदेशलाई समृद्ध बनाउँदै सबैको सहयोग अपरिहार्य भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकारिता क्षेत्रको बिकासका लागि कानूनी व्यवस्था गरी मुलुककै पहिलो प्रदेश बन्न सरकारलाई सुझाव दिए । सूचना नागरिकको सबै भन्दा ठुलो हतियार भएको चर्चा गर्दै सेजुवालले सरकार सूचनामैत्री हुनु पर्ने बताए ।