कर्णाली–रारा पर्यटन वर्ष २०७५ को आयोजना
सुर्खेत, १७ चैत
‘कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारासाथ ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को आयोजना गरिएको छ । कर्णाली महोत्सवको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री तथा कर्णाली–रारा पर्यटन वर्ष २०७५ का प्रचारप्रसार संयोजक दलबहादुर रावलले महोत्सवको लोगोे, उद्देश्य र महत्व सार्वजनिक गरेका हुन् । सो अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन विकासबाट यो प्रदेशमा समृद्धि ल्याउन तथा राष्ट्रिय अन्तराष्ट्रिय समुदायसम्म यसको पहिचान बढाउन कर्णाली–रारा पर्यटन वर्ष– २०७५ आयोजना गरिएको बताए ।

कर्णाली प्रदेश आयोजक रहने गरी मनाउन लागेको “कर्णाली–रारा पर्यटन वर्ष– २०७५” को आगामी वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
बाह्य तथा आन्तरिक पर्यटकलाई कर्णाली राजमार्ग भएर सहजताका साथ रारा पुग्नका लागि कालिकोटको दहिखोलासम्म सडक डिभिजन कार्यालय सुर्खेत र दहिखोलादेखि जुम्लासम्मको सडक खण्ड सुधारका लागि सडक डिभिजन कार्यालय जुम्लालाई निर्देशन दिइएको बताइएको छ ।
यो प्रदेशलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक पर्यटकीय गन्तव्य बनाइ आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने र गरिबी घटाउने उद्देश्यले “कर्णाली–रारा पर्यटन वर्ष– २०७५” मनाउन थालिएको हो, सामाजिक विकासमन्त्री एवं प्रचारप्रसार संयोजक रावलले भने – “कर्णालीका प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र संस्कृतिक सम्पदायुक्त पर्यटकीय क्षेत्रको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने कार्यमा यसले ठूलो सहयोग पु¥याउँछ ।”
उनले थपे, “कर्णाली पर्यटन विकासका लागि अथाह सम्भावना भएको प्रदेश हो, तर यहाँ वर्षमा ५० हजार भन्दा बढी पर्यटकको आगमन हुन सकेको छैन । यसको एउटै मात्र कारण हो, प्रचारप्रसार र पर्यटन क्षेत्रको विकास हुन नसक्नु ।”
आगामी वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ “कर्णाली–रारा पर्यटन वर्ष २०७५” मनाउन थालिएको बताइएको छसंयोजक रावलका अनुसार कर्णाली–रारा पर्यटन वर्ष २०७५ मा संघीय सरकारका मन्त्री, राजनीतिक दलका प्रमुख, संघीय सभाका सदस्य, नेपाल सरकारका उच्च अधिकारी, विदेशी कुटनीतिक नियोगका प्रमुख, कर्णाली प्रदेशसहित सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, प्रदेश सभाका सदस्य सबैलाई निमन्त्रणा गरिने बताइएको छ ।






