ऋषि स्मृतिमा अन्तरक्रिया कार्यक्रम
सुर्खेत, २६ चैत
ऋषि स्मृति प्रतिष्ठान सुर्खेत र नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको संयुक्त आयोजनामा आजभन्दा दश वर्ष अघि मारिएका नेता तथा पहिलो संविधान सभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ का नेकपा एमालेको तर्फबाट सभासदका उम्मेदवार ऋषिप्रसाद शर्मा स्मृतिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । उनको हत्या भएको आज (चैत्र २६ गते) दश वर्ष पुगेको छ । तरपनि उनको वास्तविक हत्याराको खोजी गरि दोषिलाई कारवाही गर्न नसकेको भन्दै ऋषि स्मृति दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रियामा सहभागीहरुले दोषि पत्ता लगाई कारवाही गर्नु पर्ने माग गरेका छन् । यसबीचमा एमाले धेरै पटक सत्तामा पुगे पनि घटनाको सत्यतथ्य छानविन हुन सकेको छैन सहभागीहरुले बताएका छन् ।

शर्मालाई २०६४ साल चैत २६ गते भेरीगंगा नगरपालिकाको लोदेमा गाडी भित्रै गोली हानेर हत्या गरिएको थियो । हत्याको दश वर्ष भइसक्दा पनि घटनाको छानविन हुन नसक्नु दुखद् भएको एमालेका स्थानीय कार्यकर्ताहरुले बताए ।
ऋषिको सम्झनामा डण्डिप्रशाद शर्माको अध्यक्षतामा प्रतिष्ठिान गठन भएको छ । डण्डिप्रसाद शर्मा ऋषिका भाइ पनि हुन् । उक्त प्रतिष्ठानले विभिन्न विद्यालयहरुमा अक्षय कोष स्थापना गर्ने, पार्टी कार्यालय निर्माणमा सहयोग गर्ने र हरेक बर्षको चैत २६ गते स्मृति गरेर मनाउने बाहेक उनको हत्या प्रकरण कसरी भयो, किन भयो? भन्ने बारेमा उल्लेख्य काम नगरेको पार्टी कार्यकताको गुनासो छ ।
वीरेन्द्रनगरमा सोमबार मनाइएको ऋषि स्मृति दिवसमा पनि हत्यारालाई कारवाही गरिने कसैबाट प्रतिबद्धता आएन । स्थानीय तह, प्रदेश र केन्द्र सरकारको नेतृत्वमा एमाले भएको बेला ऋषिको हत्यारालाई कारवाही गर्ने प्रतिवद्धता नआउनु दुःखद पक्ष भएको एमालेका एक कार्यकर्ताले बताए । एमाले नेतृत्वको सरकारले घटनाका विषयमा वास्तविकता बाहिर ल्याउनेमा कार्यकर्ता आशावादी छन् ।

ख्षि स्मृति दिवसको औपचारिक कार्यक्रममा बोल्दै नेकपा एमालेका पालिटब्यूरो सदस्य यामलाल कंडेलले ऋषि शर्माको बाटोमा हिड्ने सकेमा मात्र ऋषिको आत्मले शान्ति पाउने बताए । उनले भने, ऋषिले खोजेको व्यवस्था हामीले प्राप्त गरिसकेका छौ, अब हामीले यो व्यवस्थालाई प्रयोग गर्दै समाजवाद उन्मुख अर्थ व्यवस्थामा जाने तयारीमा लाग्नु पर्छ । नेता कंडेलले शर्माले परिकल्पना गरेको राजनीतिक व्यवस्था ल्याइएको र अब नेता ऋषिले देखेको सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्यमा अघि बढ्नु पर्ने बताए ।
कंडेलले एमालेले अब आवाज उठाउने दिन गएको बताउँदै भने, ‘हिजो हामी आवाज उठाउने ठाँउमा थियौं । तर अब समय बदलिएको छ । हामी हरेक सरकारमा सहभागि छौं । हामीले काम गरेर देखाउनुपर्ने चुनौति आएको छ ।’ नेता कंडेलले विगतमा जुनसुकै पेशामा लागेका व्यीक्तलाई राजनीतिक परिवर्तनका लागि आन्दोलनमा सहभागि गराए पनि अब भने समृद्धिका लागि परिचालित गरिने बताए ।
नेकपा एमालेका अध्यक्ष ध्रुवकुमार शाहीले ऋषि शर्माले देखाएको बाटोमा सदैवअघि बढिरहने बताए । ‘उहाँले देखाएको बाटोमा सधैं प्रतिबद्ध भएर लागिरहने छौं ।’ उनले भने, ‘उहाँ एक कुशल संगठन, प्रष्ट वक्ता र जनताप्रति उत्तरदायी नेता हुनुहुन्थ्यो ।’
कार्यक्रममा ऋषि स्मृति प्रतिष्ठानका अध्यक्ष डण्डि प्रशाद शर्माले जिल्लाका विभिन्न विद्यालयमा प्रतिष्ठानले अक्षयकोष स्थापना गरेको बताए । यसका साथै आगामी दिनमा पनि थप सामाजिक कार्यमा सरिक भइरहने उनको भनाइ थियो ।
प्रतिष्ठानले गत जेठ ६ मा पञ्चपुरीमा दुर्घटनामा परेका तुलबहादुर सहकारी र रतन विसीलाई उपचार खर्च वापत रु १५ हजार सहयोग गरेको छ । उनीहरुको उपचारमा सहयोग गर्न कतारबाट नवराज सापकोटाको समन्वयमा पठाइएको २५ हजार रकम पनि हस्तान्तरण गरिएको छ । प्रतिष्ठानले नेपाल राष्ट्रिय आधारभूत विद्यालय चिसापानीमा रु ५० हजारको अक्षयकोष स्थापना गर्ने एमाले पार्टी सचिव मोहन बडुवालले जानकारी दिए ।






