वडाको सहयोगमा बाख्रा वितरण
सुर्खेत २ असार ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ । अपाङ्ग भएका मध्य पनि निम्न आयस्तर भएकाहरुलाई बाख्रा वितरण गरिएको हो । बाख्रा पालेर भएपनि आफ्नो जीविकोपार्जन गर्न सकियोस् भन्ने उद्देश्यले बाख्रा वितरण गरिएको वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ की सामाजिक परिचालक उर्मिला बुढाले बताउनु भयो । अपाङ्ग नगर इकाई समितिको समन्वयमा बाख्रा वितरण गरिएको हो । सबैलाई अहिले नै बाख्रा वितरण गर्न नसकिए पनि आयस्तर हेरेर प्राथामिकतामा राखेर बाख्रा वितरण गरिएको र विस्तारै सबैले बाख्रा प्राप्त गर्ने इकाई समितिका अध्यक्ष ललितनाथ योगीले बताउनु भयो ।

वडा कार्यालयको ३० हजार सहयोगमा ४ वटा उन्नत जातका बाख्रा यामकुमारी बुढा, हरिदेवी सुनार, गणेश सिंह र मनिषा नेपालीलाई वितरण गरिएको छ । वडा कार्यालयका एक जना जनप्रतिनिधि, एक जना कर्मचारी र इकाई समितिका पदाधिकारीहरुको रोहवरमा बाख्रा वितरण गरिएको थियो ।

बाख्रा प्राप्त गरेकोमा खुसी लागेको बताउँदै हरिदेवी सुनारले भन्नुभयो यो बाख्राले पाठी जन्मायो भने इकाई समितिको समन्वयमा त्यसलाई अरु आफू जस्तै न्यून आयस्तर भएकालाई दिन्छु र बोका जन्मायो भने खसी बनाएर पान्छु र आफ्नो दैनिक आवश्यकता पूर्तिमा केही सहजता ल्याउँछु ।






