संग्राहलय जस्तै देखिने दोहोरी साँझ
रबिना रेग्मी
करिब २ वर्ष अगाडि सुर्खेतको वीरेन्द्रनगरमा स्थापना भएको काँक्रेविहार दोहोरी साँझ सुर्खेतको पहिलो अनि एक मात्र दोहोरी साँझ हो । केवल व्यापारिक दृष्टिले मात्र नभई संस्कृति जोगाउने उद्देश्यले समेत स्थापना भएको दोहोरी साँझका संचालक भक्तबहादुर थापाको भनाई छ । दोहोरी साँझ संचालन हुने हलमा पस्ने बित्तिकै कुनै एउटा ऐतिहासिक संग्राहलयमा पसेको अनुभव हुने गर्दछ । दोहोरी साँझको हलका भित्ताहरुमा कालिकोटको पचल झरना, बाँकेको बागेश्वरी मन्दिर, सुर्खेतको बराह ताल, बर्दियाका ठाकुरद्धार, डोल्पाको से फोक्सुण्डो ताल, हुम्लाको यलवाङ गुम्बा, मुगुको रारा ताल, सुर्खेतको देउती बज्यै मन्दिर, काँक्रेविहार, कुपिण्डे दह, रुकुमको स्यार्पु ताल, जाजरकोटको राजदरबार, जुम्लाको चन्दननाथ, प्यूठानको स्वर्गद्धारी, रोल्पाको जलजला, सुर्खेतको जाजुरा दहलगायतका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुका तस्वीरहरुले भरिपूर्ण छ ।

दोहोरी साँझमा गीत गाउने र नाच्ने कलाकारहरुले पनि विभिन्न भेषभूषाहरुको पहिरनले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएकै हुन्छन् भने ग्रामीण भेकमा प्रयोग हुने पानी घट्ट, तेल पेल्ने कोल, धान कुट्ने ढिकी, पिठो पिध्ने जाँतो, पञ्चेबाजा मुसल र ओखल लगायतका नमुनाहरुले सजिएको देखिने भएकोले पनि यो दोहोरी साँझले कला, संस्कृति र सम्पदाहरुको संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याएको देखिन्छ ।

यस दोहोरी साँझमा प्रस्तुत हुने विभिन्न कलाहरुमा गीत र नृत्य नै प्रमुख छन् । विशेष गरी सबै क्षेत्रमा गाइने गीतहरु प्रत्यक्ष कलाकारहरुबाट सुन्न र हेर्न पाइने यसको मुख्य विशेषता भएको बताउँछन् संचालक थापा । साथमा यस क्षेत्रमा गाइने देउडा, दोहोरीदेखि विभिन्न नाचहरु समेत प्रस्तुत हुने भएकोले पनि यस दोहोरीले आफ्नो यात्रालाई निरन्तरता दिन सकेको बताउँछन् गणेश आचार्य ।

दोहोरी भन्न बित्तिकै खानपान र रमाइलो भन्ने भन्दा पनि कला र संस्कृतिकै धनि कर्णाली र कर्णालीमा भएका ऐतिहासिक तथा परम्परागत संस्कृतिका जगेर्ना गर्ने कोसिस गर्न सकेकोमा आफूलाई आनन्द महसुस भएको बताउँछन् यसका प्रबन्धक चित्रा गिरी ।

सुर्खेतमा दोहोरी साँझ चलाउनु शुरुका दिनमा निकै संघर्ष गर्नु परेको अनुभव छ संचालक थापासँग । संचालक थापाका अनुसार दोहोरीमा आउने अनि विभिन्न लोभलालचदेखि धम्कीका भाषाहरु प्रयोग गर्नेहरु पनि भेटिए । कतिपय अवस्थामा यहाँका प्रतिष्ठित व्यक्तिहरुले पनि खाएको पैसा नतिरेरै जाने कोसिस समेत गरे तर जब उनीहरुलाई दोहोरीको बारेमा सबै कुरा सम्झाउन सकियो त्यसपछि उनीहरुले त्यसो गर्न छाडे ।
सुर्खेत अहिले कर्णाली प्रदेशको राजधानी भए पनि यो काठमाडौंको दाँजोमा सानो शहर हो । यहाँ चर्चित स्थापित कलाकारहरु पनि छन् । तर हामी नजिकको तीर्थ हेला गर्ने परम्पराबाट गुर्जिएका छौ । त्यसैले पनि विश्वास गर्ने वातावरण नभएको हो । तर जब दोहोरीले आफ्ना पाइलाहरु निरन्तर अगाडि बढाउँदै गयो त्यसपछि यहाँका धेरै कलाकारहरुलाई दर्शक स्रोताहरुले समेत चिन्ने मौका पाए भने अर्को यसको उपलब्धि भनेको स्थानीय स्तरमा नयाँ कलाकारहरुको खोजी गर्नु उनीहरुको सीप र क्षमतालाई प्रोत्साहन गर्नु पनि हो । अहिले दोहोरी साँझले आफैले उत्पादन गरेका कलाकारहरु समेतलाई आफैले रोजगार समेत दिन सकेकोमा आफूलाई गर्व लागेको संचालक थापाले सूक्ष्मदृष्टिसँग बताए ।
स्थानीय स्तरमा विभिन्न सम्भावना भएका व्यक्तिहरु छन् । उनीहरुले आफ्नो क्षमतालाई प्रस्फूटन गर्ने स्थान पाएका छैनन् त्यसैले पनि यो दोहोरी साँझले उनीहरुलाई एउटा स्थान दिएको छ । संचालनमा आएको त्यत्ति धेरै लामो समय नभएको भएपनि आफैले उत्पादन गरेका कलाकारलगायत यस क्षेत्रमा मात्र नभई राष्ट्रियस्तरमै ख्याती कमाएका कलाकारहरुले समेत स्थान पाएका छन् ।
हामी नेपालीहरुको संस्कृति निःशुल्क भन्ने हो भने …. गर्ने छ । तर यो दोहोरी साँझ संचालन भएपछि साँझपख गफ गरेर बस्ने समयलाई सदुपयोग गरेर एकातिर कलाकारहरुले रोजगार पाएका छन् अर्को तिर यस क्षेत्रको संस्कृतिको जगेर्ना भएको छ । यो नै सबै भन्दा ठूलो उपलब्धि भएको संचालक थापाको भनाई छ । कुनै दिन यस दोहोरी साँझमा गाउन र नाच्न अप्ठ्यारो मान्ने कलाकारहरु अहिले काठमाडौंमा समेत पुगेर राम्रै स्थापित भएका छन् । उनीहरुले जीवनमा प्रेरणाको स्रोतको रुपमा यो दोहोरीलाई लिने गरेको देख्दा साँच्चिकै जीवनमा एउटा उदाहरणीय कार्य गरेको जस्तो लाग्छ संचालक थापालाई । हो, धेरै मान्छेले दोहोरीमा गाउने र नाच्नेलाई नराम्रो दृष्टिले पनि हेर्छन । तर सुर्खेतको काँक्रेविहार दोहोरी साँझमा केवल मनोरञ्जन बाहेक अन्य अनैतिक कार्यमा बारेमा कसैले सोचेका पनि छैनन् र सोच्न पनि हुँदैन । थापाले दाबी गरे यदि कसैले हाम्रा कलाकारहरु वा दोहोरी परिवारमा त्यस्तो खालको दृष्टिले हेर्छ भने त्यसको मुकाबिला गर्न तयार छु ।
उनी भन्छन्, पैसा भन्ने कुरा कसले कमाउँछ कसले कमाउँदैन भन्ने भन्दा पनि यसले गरेको व्यापार व्यावसायबाट समाज र देशले के पायो भन्ने कुरालाई मुख्य रुपमा लिनु पर्दछ । हो, एउटा परिवार सफल परिवार बन्नका लागि सबै सदस्यहरु जसरी मिलेर बसेको हुनु पर्दछ त्यसरी यो दोहोरी संचालन गर्नका लागि हामी पनि मिलेर बसेका छौं । कलाकारहरुले एक अर्कामा गर्नु पर्ने सहयोगदेखि लिएर संचालक तथा ग्राहकहरुको समेत सौहाद्रपूर्ण वातावरणका कारण पनि यो दोहोरी साँझले सफलता पाइरहेको छ ।






