देशको जिम्मेवारी युवाको काँधमा : थापा
सुर्खेत
सुर्खेत अध्यक्ष थापाले पार्टीको नीति तथा सिद्धान्तका बारेमा अझ शसक्त बनाएर अगाडि बढ्न आवश्यक भएकोले त्यसको जिम्मेवारी युवाको काँधमा आएको बताउँदै हिन्दुराष्ट्रको लागि अन्तिम लडाई अब शुरु हुने बताइएको छ । सुर्खेतको वीरेन्द्रनगरमा हिजो आइतबारदेखि आज सोमबारसम्म हुने राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले यस्तो बताउनु भएको हो ।

पार्टीको फुटको कारणसँगै जनतालाई हिन्दु राष्ट्रको मुद्दाका बारेमा बुझाउन नसक्नु नै २०७४ सालमा भएका तीन तहका निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको प्रसंग उठाउँदै निर्वाचनमा भएको हारको कारणले पार्टीका विभिन्न तह र कार्यकर्तामा देखिएको निराशा र विचलनलाई अन्त्य गर्नका लागि पार्टीको संगठन सुधार सहित हिन्दु राष्ट्रको मुद्दालाई शसक्त रुपमा अगाडि बढाउने थापाको भनाई थियो । पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री समेत रहेका थापाले आफू परराष्ट्रमन्त्री भएको बेलामा चीनसँग भएका सम्झौताहरु कार्यान्वयन हुने अवस्थामा पुगेकोले खुसी व्यक्त गर्दै वर्तमान सरकारलाई धन्यवाद दिए । उनले भने, आगामी असोज मसान्त भित्र देशका ७ सय ५३ वटै स्थानीयतहका गाउँ र वठाहरुमा संगठनका समितिहरु पुर्नगठन गरी माघ मसान्तसम्ममा मेची महाकाली यात्रा गरेर हिन्दुराष्ट्र स्थापनाको लागि अभियान चलाउँछौ ।
फागुन ७ गतेदेखि हिन्दुराष्ट्र पुर्नस्थापनाका लागि जनता समेत सडकमा उतार्ने उनको भनाई थियो । पार्टी एकताको विषयमा संचारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै थापाले भन्नुभयो, समान विचारधार भएका दलहरुसँग हामी पार्टी एकिकरण गर्छौ । हिजोका दिनमा पनि पार्टी जुट र फुटको कारणले गर्दा सबै पक्षले नराम्रो हार व्यहोर्नु परेको तितो यथार्थ भएकोले अब कहिल्यै नफुट्ने गरी हाम्रो एकिकरण हुन्छ र त्यसको लागि बार्ता समिति समेत गठन भई पहिलो चरणको बार्ता भइसकेको छ । थापाले थपे, वर्तमान संविधानमा ठूला दलहरुले कसैको दबाब र प्रभावमा परेर धर्मनिरपेक्षता लेखे पनि हिजोका दिनदेखि नै हामीले विरोध गर्दै आएका छौ ।
त्यसकारण अब हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अन्तिम लडाइ लड्ने तयार भइरहेको छ । यसको शुरुवात यही साउन २ गते काठमाडौंबाट हुने थापाले बताउनु भयो । सनातन हिन्दु राष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्रका लागि पार्टीले आफ्नो तहबाट सधैं संघर्ष गरिरहने थापाको भनाई थियो । निर्वाचनमा हार व्यहोर्दैमा सबै सकिएको भनेर टिप्पणी गर्नेहरुलाई हिन्दु राज्यको स्थापना गरेर देखाइदिन युवाहरु थापाले आग्रह गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको ५ महिनाको अवधिमा नै सरकारका गतिविधिहरुको बारेमा समीक्षा गर्ने बेला भइ नसकेको भएपनि अभिव्यक्तिबाट आशा र आशंका दुवै पैदा भएको बताउनु भयो । बहुमतसहितको सरकार गठन भएको हुँदा देशमा राजनीतिक स्थिरता कायम हुने र देश आर्थिक समृद्धितिर अघि बढ्ने आशा पलाएको उनले बताए । तर, सरकारको कार्यशैली र अभिव्यक्ति हेर्दा भने आशंका पैदा भएको थापाको भनाइ छ ।
वर्तमान सरकारले विरोध गर्न पाउने अधिकार कुण्ठित गर्ने, प्रतिपक्षीलाई दमन गर्नेलगायतका कार्य गरेकोले यस्तो कार्यशैलीले देशमा एकदलीय शासन व्यवस्था लागू हुन सक्ने आशंका उब्जिएको छ, उनले भने । राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्री चीन भ्रमण जाँदा केही सकारात्मक कार्य गरेको उल्लेख गर्दै धन्यवाद समेत व्यक्त गरे । ‘प्रधानमन्त्री ओली ज्यू चीन भ्रमण जाँदा केही सकारात्मक काम गर्नुभएको छ, यसमा म पार्टीका तर्फबाट स्वागतसहित धन्यवाद समेत ज्ञापन गर्दछु,’ उनले भने, ‘विगतमा गरिएका चीनसँगका सम्झौता कार्यान्वयनका लागि चीनलाई प्रतिबद्ध गराउने काम उहाँले भ्रमणका क्रममा गर्नुभयो, यो भ्रमणको एक उपलब्धिका रुपमा छ ।’
पार्टी एकीकरणको प्रसंगमा थापाले नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक संगठनको आवश्यकता भएकाले यसका लागि समान विचार भएका पार्टी एवम् संगठनहरूसँग एकताको प्रयास भैरहेको बताए । ‘राप्रपाबाट यसअघि फुटेर गएका विभिन्न संगठनहरूलाई समाहित हुनका लागि आग्रह गरिएको छ’ अध्यक्ष थापाले भने, पार्टी टुक्रिनुको परिणामा टुक्र्याएर जानेहरूले मनन गरिसक्नुभएको छ, वार्ताको प्रयास भैरहेको छ ।’
पार्टीको मुख्य एजेण्डाका रूपमा रहेको सनातन हिन्दु राष्ट्रको प्रसंग निकाल्दै अध्यक्ष थापाले तत्कालीन संसदीय दलहरूले राप्रपाको सहमतिबिना संविधानमा धर्म निरपेक्षता घुसाएको आरोप लगाए । राप्रपा जहिले पनि सनातन हिन्दु राष्ट्रको पक्षमा रहेको भन्दै उनले धर्म्निरपेक्षता घोषणा हुँदासम्म पनि राप्रपाले विरोध गरिरहेको बताए । २०६२र०६३ पछि जनताको अभिमतबिना धर्म निरपेक्षता जबर्जस्त लादिएको उनको भनाइ थियो । धर्म निरपेक्षताकै आधारमा अहिले डलरको आडमा लाखौंको धर्म परिवर्तन गराइएको बताउँदै थापाले यसलाई रोक्न सरकारले कदम चाल्न आग्रह समेत गरे ।
राप्रपाका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देलले भन्नुभयो, राप्रपाले आफ्नो नीति र सिद्धान्तलाई जनता समक्ष सही ढंगले पुर्याउन सक्ने हो भने कुनै शक्तिले भ्रमको खेती गर्न सक्दैन । आज राप्रपालाई प्रतिगामी भन्दै हिड्नेहरु एक दिन चुकचुकाउनु पर्ने उहाँको भनाई थियो । अब राष्ट्र र धर्मको रक्षाका लागि युवाहरु एकजुट हुन आवश्यक भएकोले युवा भेला तथा प्रशिक्षण कार्यक्रमको थालनी भएको गरेर युवा वर्गलाई परिचालनको नीति लिएको लिङ्देलले बताए ।
कार्यक्रममा पार्टीका कर्णाली प्रदेश प्रमुख धनबहादुर बुढा, युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमाललगायत भातृसंगठनका केन्द्रिय पदाधिकारीहरु, कर्णाली प्रदेशका विभिन्न जिल्लाका पार्टी अध्यक्ष, सुर्खेत जिल्लाका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रशिक्षणमा कर्णाली प्रदेशका १० जिल्लाबाट १०० जनाको उपस्थिति रहेको राप्रपा जिल्ला कार्य समिति सुर्खेतले जनाएको छ ।






