Loading... आजः ८ बैशाख २०८३, मंगलवार । Tuesday 21st April 2026
ताजा खबर
  

मानवअधिकार र अविभेदसम्बन्धी तीन दिने तालिम

सुर्खेत, २७ असार ।
स्थानीय स्तरका अभिकर्ताहरुका लागि मानवअधिकार र अविभेदसम्बन्धी तीन दिने तालिम बराहताल गाउँपालिकामा बुधबारदेखि सुरु भएको छ ।
साझा आवाज कार्यक्रम अन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतको आयोजनामा बराहताल गाउँपालिका ५ बड्डीचौरमा तालिम सुरु भएको हो । तालिमको उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि तेजबहादुर वस्नेतले साझा आवाज कार्यक्रमसंगै गाउँपालिकाले पनि सहकार्य गरेर जातिय विभेद न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बराहतालबाट जातिय विभेद निर्मूल पार्नका लागि सक्रिय हुन सबै सरोकारवालाहरुलाई अनुरोध पनि गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी शर्माले साझा आवाज कार्यक्रम जातिय विभेद तथा छुवाछुत अन्त्य हुने विश्वास व्यक्त गरिन । त्यसका लागि गाउँपालिकाले पनि सहयोग गर्ने उनको भनाइ छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतका अध्यक्ष रुद्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला परियोजना संयोजक इन्द्रबहादुर बि.क.ले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने सचिव भिम शाहीले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत यादव सापकोटासहित वडा नं. ५, ६, ७ र ८ का वडा अध्यक्षहरु, बड्डीचौर प्रहरी चौकी इन्चार्ज लगायतले शुभकामना मन्तव्य दिएका थिए भने स्थानीय आमा समूह, युवा क्लव र अधिकारकर्मीगरी २५ जनाको सहभागिता रहेको छ । तालिममा मानव अधिकार, छुवाछुत तथा जातिय भेदभाव बिरुद्ध बनेका ऐन नियमका साथै स्थानीय तहबाट पाइने सेवा सुविधा र सूचनाको हकसम्बन्धी विषयवस्तुमा जानकारी गराइने मिडिया अधिकृत गोविन्द खत्रीले जानकारी दिए ।