लागु औषध ओसारपसारको मुख्य मार्ग : रुपैडिहा–कोहलपुर, छिन्चु–वीरेन्द्रनगर
श्रावण ४ सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले रुपैडिहा–कोहलपुर, छिन्चु–वीरेन्द्रनगर लागु औषध ओसारपसारको मुख्य मार्ग रहेको बताएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी उमाप्रसाद चतुर्बेदीले रुपैडिहा–कोहलपुर, छिन्चु–वीरेन्द्रनगर लागु औषध ओसारपसारको मुख्य मार्ग रहेको बताउनु भएको हो । आर्थिक वष २०७४÷०७५ मा ४ सय ६३ जना लागूऔषध प्रयोगकर्तालाई समातिएको र मनोवैज्ञानिक परामर्श समेत दिइएको एसपी चतुर्बेदीले बताउँदै ४३ ग्राम ब्राउन सुगर तथा ५८ दशमलव ५ किलो चरेश बरामद गरेको उहाँले जानकारी दिनु भयो ।

यसैगरी अवैध क्रियाकलापमा संलग्न मध्ये गत आर्थिक वर्षमा प्रहरीले जुवा खालबाट नगद र चेक समेत गरी ३९ लाख ६७ हजार ५ सय ४५ रुपैयाँ बरामद गरेको छ भने १६ वटा मुद्दा दर्ता गरी ८९ जनालाई पक्राउ गरिएको जानकारी दिइएको छ ।
एसपी चतुर्बेदीका अनुसार अवैध यौनजन्य क्रियाकलापमा सहभागी भएको आरोपमा ७५ पुरुष तथा ६३ महिलालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा महिला हिंसाका ४ सय ५९ वटा मुद्दा दर्ता भएकोमा ३ सय ९९ मुद्दाको मिलापत्र भएको छ भने २४ वटा फछ्र्याैट हुन बाँकी रहेका छन् । ३६ वटा मुद्दा अन्य निकायमा पठाइएको तथ्याँङ्क प्रहरीले सार्वजनिक गरेको छ ।
प्रत्येक वर्ष सुर्खेतमा आत्महत्याका घटना बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याँङ्क अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ९२ वटा आत्महत्याका घटना भएका छन् । जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याँङ्क अनुसार १ वर्षको अवधिमा ७१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । जसमा ४६ महिला र २५ जना पुरुष छन् । २१ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । जसमा १३ जना महिला र ८ जना पुरुष रहेको पाइएको प्रहरीले जनाएको छ ।
गत आर्थिक वर्षमा शान्ति सुरक्षा कायम गर्न गरिएका प्रयासहरुमा सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा रातको समयमा हुने चोरी डकैति कार्यलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सफल भएको एसपी चतुर्बेदीले बताउनु भयो । उहाँका अनुसार रातको समयमा हुने ९० प्रतिशत चोरीका घटनामा कमी आएको छ ।
प्रहरीले प्रस्तुत गरेको तथ्याँङ्क अनुसार आ.व. ०७४÷०७५ मा उजुरी तथा छानविन अन्तर्गत १ हजार ३ सय ७६ वटा मुद्दा दर्ता भएकोमा १ हजार ४६ वटा फछ्र्यौट भइसकेको र ३ सय ३० मुद्दा फछ्र्यौट हुन बाँकी रहेको जानकारी दिइएको छ ।
अपराधिक क्रियाकलाप, गुण्डागर्दी र ठेक्का पट्टामा अवैध रुपमा संलग्न हुने व्यक्तिहरुलाई निष्पक्ष र निर्भिक तरिकाले कानूनी दायरामा ल्याइएको एसपी चतुर्बेदीले जानकारी दिनु भयो । आम नागरिकहरुको शान्ति सुरक्षाको प्रत्याभूति, लागु औषध दुव्र्यसनमुक्त सुर्खेतको निर्माण गर्ने, सामाजिक विकृतिहरु नियन्त्रण, घरेलु हिंसा, बालबिवाह, बहुबिवाह, आत्महत्या र जबरजस्ती करणीलगायतका गतिविधिहरु निणन्त्रण गर्ने, प्रहरी आचरण र व्यवहारमा समेत सुधार गर्ने, जनमुखी प्रहरी सेवा प्रवाह गर्ने र सवारी दुर्घटनामा न्यूनिकरण गर्ने कार्य जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्राथमिकतामा रहेको बताउँदै कानूनको पालना गर्न गराउन प्रहरीले महत्वपूर्ण भूमिका खेलेको पत्रकार सम्मेलनमा बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्याँङ्क अनुसार गत आ.व.मा सवारी दुर्घटना संख्या ४९ रहेको र मृत्यु हुनेको संख्या ३५, गम्भीर घाइते संख्या ६३ र सामान्य घाइते संख्या ५२ रहेको जानकारी दिइएको छ भने सवारी कारवाही संख्या १४ हजार ९ सय ९४ रहेको छ । जसबाट ८७ लाख ७३ हजार राजश्व संकलन भएको एसपी चतुर्बेदीले जानकारी दिनुभयो ।
गत आ.व. मा हरेलु हिंसामा मानसिक यातना २ सय ७४, मदिरा सेवन गरी शारीरिक यातना ८९, आर्थिक यातना ९६ गरी ४ सय ५९ वटा हिंसा भएको तथ्याँङ्क प्रहरीले सार्वजनिक गरेको छ ।
यसैगरी हराएका महिला तथा बालबालिकाहरुको विवरणमा ३ सय ३७ वटा रहेका छन् भने १ सय ९६ वटा फेला परिसकेका छन् । फेला पर्न बाँकी १३१ मध्य केही फेला परेको तर प्रहरीमा हराउँदा जानकारी आएपनि फेलापछि जानकारी नगराएको हुन सक्ने एसपी चतुर्बेदीको भनाई थियो ।
प्रहरीको आचार र व्यवहार सुधारका लागि ३९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको र ३१ जना प्रहरी कर्मचारीलाई विभिन्न विभागीय कारवाही गरिएको जानकारी दिइएको छ ।
यसैगरी प्रहरीले गत आ.व. मा सामाजिक अपराध नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु समेत गरेको जनाइएको छ । जसमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि १४, बालबिवाह न्यूनिकरणका लागि १२, घरेलु हिंसा न्यूनिकरणका लागि १९, मानव बेचबिचन न्यूनिकरणका लागि ६ र जबरजस्ती करणी न्यूनिकरणका लागि ३ वटा जनचेतनामूलक कार्यक्रम गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।






