दुल्लु स्मार्ट सिटिकाे लागि छलफल
कृष्ण प्रसाद अधिकारी
दैलेख (दुल्लू) ।
नेपाल सरकारले नेपालका १० वटा शहरहरुलाई स्मार्ट शहर निमार्ण गर्ने प्रवधानअनुरुप स्मार्ट सिटिको रणनैतिक योजनाका बारेमा सम्बन्धित परामर्शदाताहरुसँग शुक्रबार छलफल भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको नयाँ शहर आयोजना समन्वय कार्यालयको आर्थिक वर्ष २०७४/०७५ को कार्यक्रम अनुसार शुक्रबार दुल्लूमा छलफल भएको हो । यो दोस्रो चरणको छलफल हो ।

कार्यक्रमको उद्देश्य र लक्ष्यको बारेमा नयाँ शहर आयोजनाका निर्देशक पराग कायस्थले प्रकाश पारेका थिए । यो भन्दा पहिले निजगड, लुम्बिनी र पालुङटारमा पहिलो चरणको कार्यक्रम सञ्चालन गरेको अायाेजनाका निर्देशक कायस्थले जानकारी दिए । उनका अनुसार सरकारले पूर्वाधार विकासका लागि केही रकम छुट्याएकोले यसै वर्षदेखि स्मार्ट सिटीको काम सुरु हुने बताइएको छ । रिपोर्ट तयार गर्नको लागि खटिएको टोलीलाई पूर्णरुपमा सहयोग गर्न जन प्रतिनिधीलाई समेत आग्रह गरे ।
स्मार्ट सिटी निर्माणको लागि आवश्यक पर्ने मापदण्डमा पहुँच पुग्ने बाटो, खुल्ला क्षेत्रहरु, प्लट सम्बन्धी ब्यवस्था, खुल्ला भाग सम्बन्धी ब्यवस्था, सडक अधिकार क्षेत्र, पार्कीङको ब्यवस्था, बस्तुशिल्पीय नियन्त्रण, विपद जोखीम, न्युनीकरण सम्बन्धी व्यवस्था, आवासिय क्षेत्र, संस्थागत क्षेत्र, औद्योगिक क्षेत्र, कृषि क्षेत्र, संरक्षण क्षेत्र, विशेष प्रकारका भवन निर्माण, सेवा सुविधाहरुको सुविधा सम्पन्न शहर बनाउन सकिने उल्लेख छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य लक्ष्मीप्रसाद पोखरेलले डिपीआरको काम अबको ६ महिनाभित्र सकिने र स्मार्ट सिटीको काम अघी बढ्ने बताए । उनले भने आफुले दुल्लूलाई स्मार्ट सिटी बनाउनको लागि निकै पहल गरेको र तत्कालीन प्रधानमन्त्री केपीओलीले स्मार्ट सिटी बनाउनमा सहयोग गरेकोले स्मार्ट सिटी निमार्ण गर्न सफल भएको बताए ।
दुल्लू नगरपालिकाका मेयर घनश्याम भण्डारीले दुल्लू नगरपालिका ज्वाला सभ्यताको विशेष भुमिका रहेको र हिन्दुहरुको आस्थाको क्षेत्र भएकोले स्मार्ट सिटी संगै धार्मीक शहरको विकास गर्नको लागि सहजकर्ता टोलीको भुमिका उल्लेखनिय रहने बिश्वास व्यक्त गरे ।
नेकपाका नेता थीरबहादुर कार्कीले स्मार्ट सिटी बनाउने हो भने नगरपालिकाले तत्काल नगरमा खनिएका सडकको मापदण्ड निर्धारण गर्नु पर्नेमा जोड दिए । नगरपालिकाले बनाएका योजना र स्मर्ट सिटीले बनाएका योजना नबाझिने गरि शिक्षा, स्वास्थ्य, यातायात लगायतका विषयमा ध्यान दिनुपर्ने बताए ।
दुल्लू नगरपालिकाको स्मार्ट सिटीको डिपीआर गर्ने जिम्मा नेपाल डेभ्लपमेन्ट कन्सल्टेन्सीले पाएको छ । यो डिपीआरको काम अबको ६ महिनामा सम्पन्न गरेर रिपोर्ट नेपाल सरकारलाई बुझाउने कन्सल्टेन्सीका प्रमुख किष्णप्रसाद तिमिल्सेनाले बताए ।
टोलीले शनिबारदेखी विभिन्न चरणमा कामहरु सुरु गर्ने छ । शनिबारदेखी दुल्लू नगरपालिका सबै वडामा गएर त्यहाका बुद्धीजीवी सर्कल, जनप्रतिनिधलाई भेला गरेर कामको थालनी गर्ने बताइएको छ ।
दुल्लू नगरपलिकाको आयोजनामा भएको कार्यक्रमको नगरप्रमुखकोे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्षेत्र नम्बर २ का पूर्वसांसद लक्ष्मीप्रसाद पोखरेल, नयाँ शहर आयोजनाका आयोजना निर्देशक पराग कायस्थ , शहरी बिकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका प्रमुख नारायण प्रसाद भण्डारी, दुल्लू नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्ष, शिक्षक, वुद्धिजीवी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।






