सुर्खेतमा नयाँ पुरस्कारको स्थापना हुने
सुर्खेत
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्रियाशील संस्थाको रुपमा रहेको मध्यपश्चिमाञ्चल गजल मञ्चले प्रदान गर्ने गरी नयाँ पुरस्कारको घोषणा हुने भएको छ ।

संस्थाको पाँचौ वार्षिकोत्सव एवम् स्रष्टा सम्मान र कर्णाली प्रदेशकै प्रतिनिधि एक दर्जन गजलकारका दुई दर्जन गजलहरु वाचन गर्ने कार्यक्रममा बालबालिकाको क्षेत्रमा परोपकारी काम गर्दै आइरहेको अनमोल फाउण्डेशनले नयाँ पुरस्कारको घोषणा गर्ने भएको छ । उक्त कार्यक्रममा फाउण्डेशनका अध्यक्ष निराजन शाहीले पुरस्कारको घोषणा गर्ने बताइएको छ । घोषणा हुने पुरस्कार प्रत्येक वर्ष अनमोलको जन्म जयन्तिको अवसरमा प्रदान गर्ने व्यवस्था गरिनेछ ।
भाद्र २३ गतेकै दिन जन्मनु भएका अनमोल शाही उपचारको क्रममा अल्पायूमै दिवंगत भएपछि उहाँको नामबाट “अनमोल स्मृति फाउन्डेसन “ खोलिएको छ । गजल मञ्चले सोहि कार्यक्रममा अनमोलको जन्मदिन मनाउने निर्णय समेत गरेको छ । अनमोलको नामबाट संचालित फाउण्डेशनले बालबालिकाहरुको क्षेत्रमा साथै खेलकुद र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आइरहेको छ ।






