Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

मोतीरामको १५३ औँ जन्मजयन्ती

२४ भदौ, काठमाडौं।

भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनी परलोक भएका थिए । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याए । नेपालमा छापाखाना भित्राएको श्रेय समेत उनले नै पाएका छन् ।

उनका ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् । भट्ट नेपाली कविताको माध्यमिक कालका केन्द्रीय प्रतिभा हुन् ।

आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी उनले नै विसं १९४१ मा प्रकाशन गराएका थिए । भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन् । यससम्बन्धी अनुसन्धान हुन बाँकी नै रहेको पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विषयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले जानकारी दिए ।