प्रहरी जवानलाई विभागीय पुरस्कार
सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध अपराध नियन्त्रण कार्यमा महिना भरी उत्कृष्ट कार्य गर्ने प्रहरी जवानलाई विभागीय पुरस्कार प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान दिपेन्द्रराज श्रेष्ठलाई उक्त कार्यमा उत्कृष्ट कार्य गरेको भन्दै विभागीय पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिनुभयो ।

भाद्र महिना भरीमा लागु औषध नियन्त्रण गर्ने कार्यमा आ–आफ्नो कार्य विवरण पेश गरेका ६ जना प्रहरी मध्य प्रहरी नायब उपरीक्षक श्याम सिं चौधरीको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले श्रेष्ठलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो ।
पछिल्लो समयमा प्रहरीले अपराध नियन्त्रण, जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । प्रहरी प्रमुख एसपी रजौरेका अनुसार आगामी महिनादेखि निरन्तर रुपमा अपराध नियन्त्रण कार्यमा समेत उत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गरिने छ । यो सदरमुकाममा मात्र नभई जिल्ला भित्र रहेका सबै युनिटहरुमा रहेका प्रहरीहरुको मूल्याङ्कन गरिनेछ ।
यसका साथै प्रहरीले दशैं तिहार र छठ जस्ता चाडपर्वहरुलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजना समेत बनाएको बताइएको छ । जसका लागि आकस्मिक चेकजाँच गर्ने, सादा पोषाकमा प्रहरी परिचालन गर्ने, वीरेन्द्रनगर बसपार्कदेखि छिन्चुसम्म विभिन्न स्थानमा सहायता कक्षहरु स्थापना गर्ने, मन्दिरहरुमा दर्शनार्थीहरुलाई व्यवस्थित गर्ने कार्य गर्ने, बजार क्षेत्रमा पैदल गस्ती गर्ने, मोटरसाइकल तथा मोवाइल गस्तीमा बृद्धि गर्ने, सन्देशमुलक सन्देशहरु प्रकाशन प्रशारण गर्ने, अवैध मदिरा नियन्त्रण गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा एसपी रजौरेले भन्नुभयो, कोही पनि व्यक्ति कानूनक विपरित कार्य गर्छ भने उसले उम्कन्छु भन्ने सोचेको छ भने त्यो गलत छ । त्यसैले कानून विपरित कार्य कोही कसैले नगर्न नगराउन समेत अनुरोध गरे ।






