दुई दिने विकास विमर्श कार्यक्रम हुँदै
सुर्खेत
समृद्ध कर्णाली प्रदेशको निर्माणको आधार सम्भावना र चुनौति विषयक दुई दिने विकास विमर्श कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ । कर्णाली खोज अनुसन्धान तथा अध्ययन केन्द्रको आयोजनामा यही असोज २१ र २२ गते भ्याली भ्यू कटेजको सभा हलमा विमर्श कार्यक्रम हुन लागेको संस्थाका महासचिव धुपेन्द्र बहादुर शाहीले बताउनु भयो ।
पहिलो दिनको कार्यक्रम अन्तर्गत पहिलो चरणमा कर्णाली प्रदेशको विकास सम्भावना र चुनौतिहरु शीर्षकमा उप प्राध्यापक माधव प्रसाद खनालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने दोस्रो चरणमा कर्णाली प्रदेशको भाषिक, लोक साहित्य तथा संस्कृतिको विद्यमान अवस्था र यसको संरक्षण शीर्षकमा डा. दीपक गौतमले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको महासचिव शाहीले क्वीकखबरसँग बताउनु भयो ।
दोस्रो दिनको कार्यक्रममा कर्णाली प्रदेशको शैक्षिक अवस्था, सम्भावना र चुनौतिहरु शीर्षकमा उपप्राध्यापक विष्णुकुमार खड्काले कार्यपत्र प्रस्तुत गर्ने र दोस्रो चरणमा समृद्ध कर्णाली प्रदेश निर्माणमा राजनीतिक दलहरुको बदलिँदो भूमिका शीर्षकमा डा. रमेश प्रसाद आचार्यले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको संस्थाका महासचिव शाहीले बताउनु भयो । कार्यक्रममा कर्णाली प्रदेशका विज्ञ, बुद्धिजीवि र सरोकारवालाहरुको उपस्थिति रहने बताइएको छ ।






