Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

कविता “नयाँ युग ” -प्रताप पौडेल

युगको प्रवाहसँगै

समयको गतिसँगै

यात्रा गरिरहेछ शोषणले ।

प्रताप पौडेल

आजको युगमा पनि

वर्गरहित समाज निर्माणार्थ

संघर्षरुपि तस्बिरहरु रंगिदैछन ।

त्यही तस्वीरहरुको लडाइबाट

आउने सुन्दर बिहानी !

पक्कै पनि एकदिन

मन्थन हुनेछ सत्यको,

गन्थन हुनेछ न्याय र समानताको

उहिलेको आदिम साम्यवादी युग

स्थापनाका स्वरहरु गडगडाइरहेकाछन

नयाँ ढंगले !

चुसिखान पल्केका विरुद्ध

उठदैछन चुसिएका जनहरु ।

गरिबको रगत र पसिनाको

समुन्द्रमा जहाज सवार सामन्तहरु हो

जब फल्नेछन

वर्गसंघर्षका बिजहरु

तब बिस्फोट हुनेछन तिम्रा साम्राज्यहरु ।

क्रान्तिको खातिर!

सतिसाल बनेर उभिनेछन

थिचिने र मिचिनेका स्वरहरु

शोषित वर्गका बिचारहरु ।

हुनेछ बर्गयुद्द,

चल्नेछ लडाइ शोषकका बिरुद्ध

संघर्ष-संघर्षको मैदानबाट

आउनेछ नयाँ युग !

त्यो युग हुनेछ समाजवादको,

उदाउँदो साम्यवादको

अन्धाकाररुपी बादल चिरेर

फेरि पनि उदाउनेछन

नयाँ चन्द्र र सुर्य,

चम्किलो बिहानी ।