Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

साहित्यले जीवनको महत्व बुझाउनु पर्छ : साहित्यकार शाह

मंसिर २९, सुर्खेत ।

साहित्यकार महेशविक्रम शाहले साहित्यले जीवनको महत्व बुझाउनु पर्ने बताउनु भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा खसान साहित्य समाज सुर्खेतले आयोजना गरेको सामाजिक विकृतिका विरुद्ध विशेष रचना वाचन कार्यक्रममा साहित्यकार शाहले यस्तो बताउनु भएको हो । प्रमुख अतिथिको रुपमा कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै साहित्यकार शाहले भन्नुभयो, ‘कर्णालीमा नागरिकहरु अकालमा मरिरहेका छन् । उनीहरुले जीवन बुझ्न नसकेका कारण पनि अधिकांश घटनाहरु हुने र अकालमा ज्यान जाने भएकोले उनीहरुलाई जीवनको महत्वको बारेमा सचेत बनाउने कार्य साहित्यले गर्नुपर्दछ ।’ उहाँले थप्नुभयो, ‘साहित्यकारहरु शहर भन्दा पनि गाउँ–गाउँमा पुग्नु पर्छ अनि साहित्यकारले आफूले पनि सुन्नु पर्छ र बोल्नुपनि पर्छ । जसले गर्दा गाउँमा बस्ने नागरिकहरुको जीवनमा समेत प्रभाव पर्न सकोस् ।’


कविसँग गजलकार र गजलकारसँग कवि मुख्य नारा सहित आयोजना गरिएको उक्त कार्यक्रममा कवि असिम सागर र विपि अस्तुले कविता वाचन गर्नुभएको थियो भने सजना वाइवा, लक्ष्मण संघर्ष र विमर्श कंडेलले गजल वाचन गर्नुभएको थियो । कवि तथा गजलकारका गजल तथा कविताले आफू निकै प्रभावित भएको बताउँदै साहित्यकार शाहले कविताले चेतनाको द्वार खुलाउने बताउँनु भयो । वाचन गरिएका साहित्यिक रचनामा अधिकांश देशप्रेम, वर्तमान राजनीतिक परिवेश, कर्णालीका सुखदुःख, यहाँको संस्कृति र परम्परालगायतका विषयवस्तुहरु समेटिएका थिए ।


सुर्खेत, दैलेख, जाजरकोट, अछाम, कालिकोट, जुम्ला, बाँके, बर्दिया, कैलाली, रामेछाप, काठमाडौंलगायतका जिल्लाका साहित्यकारहरुको सहभागीता रहेको उक्त कार्यक्रममा पोखरामा भएको राष्ट्रव्यापी चित्रकला प्रतियोगीतामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दैै प्रथम स्थान हासिल गर्नुहुने सुर्खेतका विक्रम शिशिरलाई सम्मान गरिएको थियो भने कार्यक्रम अनमोल स्मृति प्रतिष्ठान, मध्यपश्चिमाञ्चल गजल मञ्च तथा इगरब्रिज माध्यमिक विद्यालयको समन्वयमा भएको थियो ।

खसान साहित्य समाजका अध्यक्ष कपिल योगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण म. प. गजल मञ्चका महासचिव पहल असिम थापाले गर्नुभएको थियो ।