बोटेचौरस्थित बस र जीप ठोक्किदा २० जना घाइते
माघ ८ सुर्खेत
जिल्लाको गुर्भाकोट नगरपालिकाको बोटेचौरस्थित बस र जीप ठोक्किदा २० जना घाइते भएका छन्। जाजरकोटबाट सुर्खेतको छिञ्चुतर्फ आउँदै गरेको लु ३९२८ नम्बर जीप र छिञ्चुदेखि रुकुमको राणीतर्फ जाँदै गरेको ना ५ ख ४५२९ नम्बरको बस ठोकिएको हो।
इलाका प्रहरी कार्यालय मेहेलकुनाका अनुसार जीप र बसमा सवार यात्रुहरु घाइते भएका छन्। लु १ जीपमा ८ जना र बसमा १२ जना यात्रु थिए। उनीहरुमध्ये सात जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालयका मेहेलकुनाका इन्चार्ज सर्वजीत बलेली मगरले बताए।
उनका अनुसार गम्भिर घाइते सातै जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । बाँकी १३ जनाको स्थानीय मेडिकल र स्वास्थ्य चौकी मेहेलकुनामा उपचार भइरहेको छ।
जीप र बस तीव्र गतिका कारण दुर्घटना भएको उनले बताए। ‘बाटो साँघुरो छ, तर, गाडी स्प्रीडमा गुडेकाले दुर्घटना भएको देखिएको छ’ उनले भने,‘चालक र सह–चालकसमेत घाइते भएकाले अनुसन्धान हुन बाँकी छ।’






