पर्यटनमन्त्री सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना, प्रजिअको टोली घटनास्थलतर्फ
खगेन्द्र अधिकारी
फागुन १५ काठमाडौँ |
ताप्लेजुङ-पर्यनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर आसपास दुर्घटनामा परेको छ। फुङ्लिङ नगरपालिका वडा नं १० फुरुम्बोको सिस्ने स्थित तारेभीरमा भीरमा ठोकिएर बिमान दुर्घटनामा परेको स्थानीयले बताएका छन्।
हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ६ जना सवार थिए। गृहसचिव प्रेम राईका अनुसार तेह्रथुमको चुहानडाँडा जाँदै गरेको उक्त हेलिकप्टर दुर्घटना भएको हो। ‘मन्त्री ज्यू चढेको हेलिकप्टर दुर्घटना भएको छ’, गृहसचिव राईले भने, ‘थप विवरण आउन बाँकी छ।’ पाथिभराको दर्शनपछि उक्त हेलिकप्टर चुहानडाँडा तर्फ उडेको थियो। हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीका अलवा पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल सवार थिए। उक्त हेलिकप्टर काठमाडौंबाट बिहान ८ बजे उडेको थियो भने पाथिभराबाट ११ बजेको आसपासमा चुहानडाँडा तर्फ उडेको थियो।
घटनास्थल जाँदै गरेका माथिल्लो फेदीका होटल व्यवसायी घनश्याम पौडेलका अनुसार बिमान खसेपछि धुँवा सहित ठूलो आगो बलेको थियो। धुँवा र आगो बलेको खबर पाएलगत्तै स्थानीय सहित माथिल्लो फेदीमा रहेको प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको छ। घटना थहा पाए लगत्तै सदरमुकाम फुङ्लिङबाटट प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको नेतृत्वमा सुरक्षाकर्मीको टोली सुरक्षा अधिकारी सहित घटनास्थलतर्फ प्रस्थान गरेको छ। प्रजिअ भण्डारीले केहि शंकास्पद जानकारी आएको तर पुष्टी हुन बाँकी रहेको बताए।
घटनास्थलतर्फ जाँदै गरेका स्थानीय होटल व्यवसायी पौडेलले हिउँ परिरहेकोले घटनास्थल सम्म सहज ढंगले पुग्न कठिनाई भईरहेको बताए। मंगलवार मध्यान्हबाट आकास ढाकेको ताप्लेजुङमा बुधवार बिहानबाट सिमसिम पानी परिरहेको छ। बादलले आकास ढाकेको छ भने माथिल्लो क्षेत्रमा हिमपात पनि भइरहेको छ।
यस्तै हिमपात र पानीका कारण २०६३ साल असोज ७ गते तत्कालीन बन राज्यमन्त्री गोपल राई सहित २४ जना बिशिष्ट व्यक्ति सवार हेलिकोप्टर उपल्लो ताप्लेजुङको फले स्थित ढुङ्गे पहाडमा ठोकिएर दुर्घटनामा परेको थियो । सो दुर्घटनामा २४ जना व्यक्तिले ज्यान गुमाएका थिए।
नागरिक न्युजबाट






