Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

नारी तिमी धन्य छौ – कविता

नारीसाथ मिलेर हुन्छ सजिलो यो जिन्दगीको पथ
नारीभित्र चलाउने कुशलता, यो जिन्दगीको रथ ।
नारी सृष्टि मुहान हुन् र त छ यो सौन्दर्यशाली जग
यस्तो लाग्छ फलामझैॅ पुरुष छन् नारीहरू चुम्बक ।।

छर्ने प्रेम- प्रकाश नित्य घरमा नारी दियोतुल्य छन्
कैची काट्छ लुगा र जोड्दछ सियो नारी सियोतुल्य छन् ।
आँखा,हात,विवेक यी मुट तथा फोक्सो फियोतुल्य छन्
घुम्छन् बालकदेखि वृद्ध घरका नारी मियोतुल्य छन् ।।

आमा यी बहिनी,दिदी,प्रियतमा छन् पूज्य नारीहरू
सासू हौ परिचारिका र गृहिणी छोरी बुहारीहरू ।
एकै ज्यान अनेक काम सहजै गर्छ्यौ नथाकीकन
खाँचो हुन्छ जहाँ जहानभरमा पुग्छ्यौ नडाकीकन ।।

हाम्रा सीमित सोचले विगतमा नारी भए शोषित
हिंसा,शोषण,दोष,यी पुरुषका खप्ने गरे कोसिस ।
भोग्दै दोष थुपार्दथे पुरुषले हुन्थ्यो निकै दुर्गति
हाम्रो क्रूर परम्परा विगतमा नारी पठायो सती ।।

नारी सभ्य भएर हिँड्छ सजिलै संस्कारमा सन्तति
नारी शिक्षित छन् भने मुलुकको होला छिटै उन्नति ।
धर्ती,जीवनदायिनी,गुरु, प्रिया नारी तिमी मान्य छौ
नारी एक अनेक रूप गुणले साँच्चै तिमी धन्य छौ ।।